काठमाडौं, १६ माघ । चालु आर्थिक वर्षको प्रथम पाँच महिनामा त्रिभुवन विमानस्थलबाट ३६ किलो सुन बरामद गरिएको छ । विदेशबाट आउने यात्रुहरुले गैरकानूनी रूपमा ल्याएको सुन त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जफत गरेको हो ।
त्रिभुवन विमानस्थल भन्सार कार्यालय प्रमूख गजेन्द्र ठाकुरले चालु आवको पाँच महिनामा करिब ३६ किलो सुन जफत भएको जानकारी दिए । उनले परिमाणभन्दा बढीको हकमा जफत हुने व्यवस्था भएकाले सोही आधारमा सुन जफत गरिएको बताए ।
विगतमा ५० ग्रामसम्म सुनका गहना सहजै ल्याउन सकिने व्यवस्था भए पनि काँचो सुन पूर्ण प्रतिबन्ध थियो । आर्थिक ऐनमा विदेशबाट फर्केका यात्रुले आफ्नो साथमा ल्याएको सुनमा पहिलो ५० ग्रामसम्म प्रति १० ग्राम पाँच हजार दुई सय रुपैयाँ र ५० ग्रामभन्दा बढी थप ५० ग्रामसम्म प्रति १० ग्राम ६ हजार दुई सय रुपैयाँ भन्सार लिने व्यवस्थामा उल्लेख छ ।
आर्थिक ऐन २०७५ मा एक सय ग्रामसम्म सुन ल्याउने सकिने र एक सय ग्रामभन्दा बढी परिमाणमा सुन पैठारी गरेमा बढी भएको परिमाण जफत गरिने व्यवस्था छ ।
विदेशबाट आउने यात्रुले १०० ग्रामसम्म सुन भन्सार तिरेर ल्याउन सक्छन्। सय ग्रामभन्दा बढी सुन ल्याएमा जफत हुने र जफत गरिएको सुन बराबरको थप रकमसमेत तिर्नुपर्ने हुन्छ ।
जफत गरिएको सुन राष्ट्र बैंकमा बुझाउने गरिन्छ। उक्त सुनको बजार मूल्यअनुसारको रकम सरकारी खातामा जम्मा हुने ठाकुरले बताए । ३३ किलो सुन तस्करी प्रकरणपछि सरकारले विमानस्थलमा कडाइ गर्दै आएको छ । सानोतिनो परिमाणका सुन विमानस्थलमा नियमितजसो समातिने ठाकुरको भनाई छ ।


लाेकपाटी न्यूज
