‘भ्रष्टाचारको अन्त्य गर्ने सङ्कल्प गरौँ’:  प्रधानमन्त्री ओली

Kp sharma oli PM
लाेकपाटी न्यूज

काठमाडौं, १६ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले शहीद दिवसका अवसरमा लैनचौरस्थित शहीद स्मृति पार्क गई श्रद्धाञ्जलि व्यक्त गरेका छन् । उनले मुलुकमा लोकतान्त्रिक शासन स्थापना भइसकेकाले अब अधिकारका लागि कसैले शहीद हुनु नपर्ने बताए ।

प्रकृतिले धनी बनाएको नेपाललाई शहीदको सपनाबमोजिम सुशासन र आर्थिक विकास लागि सिङ्गो देश एकाबद्ध हुनुपर्नेमा जोड दिँदै प्रधानमन्त्री ओलीले समृद्ध नेपाल र सुखी नेपालीको आकाङ्क्षामार्फत देशलाई आर्थिक रुपान्तरणको चरणमा लाने समय आएको उल्लेख गरे ।

उनले भने, “सुशासन कायम गरी भ्रष्टाचारको अन्त्य गर्न आजको दिनमा सबै फेरि सङ्कल्प गरौँ, जनमतलाई सम्मान गर्दै विधिको शासन कायम गरी अधिकारको समानतासहित देशलाई समुन्नत र विकासशील बनाएर भावी पुस्तालाई सुम्पौँ ।”

मुलुकमा प्रजातन्त्र स्थापनाका लागि प्राण आहुति गर्ने शहीदलाई सम्मान गर्न प्रधानमन्त्री ओली लैनचौर पुगेका हुन् । सो अवसरमा नेपाली सेनाको टुकडीले सम्मान अर्पण गरेको थियो ।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले सरकारको समृद्ध नेपाल, सुखी नेपाली लक्ष्य पूरा गरेर शहीदको सपना पूरा गर्ने समय आएको बताए । कार्यक्रममा मन्त्रीगण, संवैधानिक निकायका प्रमुख, सुरक्षा निकायका प्रमुख, विशिष्ट कर्मचारी र जनप्रतिनिधिको सहभागिता थियो ।

जहाँनियाँ राणा शासनको विरोधमा स्वतन्त्रताको माग गर्दा १९९७ सालमा शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा, दशरथ चन्द एवं गङ्गालाल श्रेष्ठलाई माघ १५ गते शोभाभगवतीमा मृत्युदण्ड दिइएको थियो । उनीहरुको सम्मानमा शहीद दिवस मनाइँदै आएको छ । यही माघ १० गतेदेखि आजसम्म सप्ताहव्यापी रूपमा देशभर शहीद दिवस मनाइएको छ । प्रदेश नं ३ सरकारले आज सार्वजनिक बिदासमेत दिएको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्