काठमाडौँ । मुलुक र जनताको हक अधिकारका लागि आफ्नो प्राण आहुति दिने शहीदको सम्झनामा वि.सं २०१२ देखि नै माघ १६ गते शहीद दिवस मनाइन्छ । तर, हालसम्म कति शहीद घोषणा गरिए भन्ने यकिन तथ्याङ्क छैन ।
सरकारले यही माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउँदै आएको छ । वि.सं. २०१२ देखिनै काठमाडौँ महानगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष शहीदको सम्झनामा सो कार्यक्रम गरिँदै आएको हो ।
वि.सं. १९९७ मा शहीद शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौँको पचलीमा, धर्मभक्त माथेमालाई सिफलमा माघ १३ गते र गंगालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा तत्कालीन शासक पक्षले मृत्युदण्ड दिएको थियो ।
नेपालमा पहिलो शहीद लखन थापालाई मानिन्छ । त्यसयता सरकारले वि।सं १९९७ मा प्रजातन्त्रका लागि प्राण आहुति दिने चार शहीद– शास्त्री, माथेमा, श्रेष्ठ र चन्दलाई शहीद घोषणा गरी विभिन्न कार्यक्रममार्फत प्रत्येक वर्ष सम्झिने गरिएको छ ।
पञ्चायत कालमा प्रजातन्त्र पुनःस्थापनाका लागि भएका आन्दोलनमा पटक पटक थुप्रै योद्धाले सहादत प्राप्त गरे पनि उनीहरूका बारेमा राज्यले त्यति महत्व दिएको देखिँदैन । वि.सं २०४६ को प्रजातन्त्र पुनःस्थापनाको जनआन्दोलनमा सहादत प्राप्त गर्ने १९ शहीदलाई सम्मानस्वरुप सरकारले जनही एक लाख आर्थिक सहयोग गरेको गृह मन्त्रालयले जनाएको छ । त्यस्तै २०६२–६३ सालको जनआन्दोलनका क्रममा मुलुकभर सहादत प्राप्त गरेका २६ जनालाई शहीद घोषणा गरिएको थियो ।
वि.सं. २०६२–६३ को जनआन्दोलनपछि सरकारपिच्छे विभिन्न आन्दोलन र घटनामा निधन भएका व्यक्तिलाई पनि शहीद घोषणा गर्ने गरिएकामा सर्वसाधारणको गुनासो छ । तर, गृह मन्त्रालयसँग हालसम्म कति शहीद घोषणा गरियो भन्नेबारे स्पष्ट जवाफ भने छैन ।
मुलुकमा पछिल्लो पटक झैझगडा र दुर्घटनामा ज्यान गुमाएका व्यक्तिलाई समेत शहिद घोषणा गर्नुपर्ने र रु १० लाख आर्थिक सहयोगका लागि दबाब दिने प्रचलनले वास्तविक शहीदको भावनामा ठेस पुगेको शहीद परिवारको गुनासो छ ।



लाेकपाटी न्यूज

