भरतपुर, १५ माघ । कुखुराको दानाको मूल्यमा भारी वृद्धि भएको छ । दाना उद्योगीको भेलाले प्रतिबोरा १ सय ५० का दरले दानाको मूल्य बढाएको हो ।
दानामा प्रयोग हुने मुख्य कच्चा सामग्री मकै र भटमास पिनाको मूल्य बढेकाले दानाको मूल्य बढाइएको दाना उद्योग संघका केन्द्रीय अध्यक्ष रवीन पुरीले जानकारी दिए ।
तीन महिनाको अवधिमा ३ पटक दानाको मूल्य वृद्धि भएको छ । पछिल्लो पटक आइतबारदेखि लागू हुने गरी अहिलेसम्मकै उच्च दरमा दानाको मूल्यमा वृद्धि गरिएको हो। मंसिरमा ७५ रुपैयाँ वृद्धि गरिएको दानाको मूल्य, पुसमा १२५ र तेस्रो पटक माघ महिनामा १ सय ५० बढाइएको पुरीले बताए । तीन महिनाको अवधिमा प्रतिबोरा ३ सय ७५ रुपैयाँले दानाको मूल्य बढेको उनले जानकारी दिए ।
प्रतिकेजी १४ मा पाइने मकै तीन महिनाको अवधिमा बढेर ४० पुगेको छ भने भटमास पिना ५५ बाट बढेर प्रतिकिलो ६५ पुगेको छ। कुखुराको दाना बनाउन मकै, भटमास पिनालगायतको कच्चापदार्थ आवश्यक हुन्छ। भटमासको पिना शत प्रतिशत र मकै ७० प्रतिशत भारतबाट आयात हुने गरेको छ। मकै, भटमास मात्र वार्षिक २५ अर्बको आयात हुने गरेको दाना उद्योग संघले जानकारी दिएको छ ।
ब्रोइलर कुखुराको दाना (बिपिएच) थोक मूल्य बोरा १ सय ५० बढेर ३ हजार १ सय २५ पुगेको छ । यस्तै बिबान दाना २ हजार ८ सय ७५ बाट बढेर ३ हजार २५ पुगेको छ भने बिटु दाना २ हजार ८ सय २५ बाट बढेर २ हजार ९ सय ७५ पुगेको छ । लेयर्स कुखुराको दाना पनि सोही अनुपातमा वृद्धि भएको छ।
यस वर्ष मकैको मूल्य अहिलेसम्मकै सबैभन्दा धेरै वृद्धि भएको दाना उद्योग सङ्घका पूर्वअध्यक्ष एवं कुखुरापालन विज्ञ डा। तिलचन्द्र भट्टराईले बताए। यस वर्ष भारतमा मकै भटमासको उत्पादन कम भएको र बाहिरी देशमा निर्यात र निर्वाचनका कारण मूल्य बढेको उनले जानकारी दिए। नेपालमा मकै र भटमास पर्याप्त नहुञ्जेलसम्म सरकारले दिँदै आएको भन्सार छुट हटाएका कारण पनि मूल्य बढेको दाना उद्योगीको भनाइ छ ।
सरकारले दाना उद्योगलाई पाँच प्रतिशत कृषि सुधार शुल्कमध्ये कच्चा सामग्री आयातमा ३।६ प्रतिशत छुट दिँदै आएको थियो । सरकारले दाना उद्योगका लागि कच्चा पदार्थ आयात गर्दा पाँच प्रतिशत कर लिने र तयारी दाना भारतबाट आयात गर्दा पाँच प्रतिशत मात्रै भन्सार शुल्क लिने नीति बनाएका कारण दाना उद्योगी धरासायी बन्ने अवस्थामा रहेको भट्टराईले बताए। नेपालमा दैनिक तीन हजार मेट्रिक टन दाना खपत हुन्छ ।
यसैबीच कुखुरा र अण्डाको मूल्य नपाएका किसान दानाको मूल्यमा भारी वृद्धि भएपछि चिन्तित बनेका छन्। अहिलेको लागत मूल्यअनुसार अण्डाको मूल्य धेरै कम पाएको नवलपुरको दुम्किबासका किसान चूणामणि भुसालले बताए। “अहिले अण्डाको मूल्य प्रतिक्रेट २३५ छ”, उनले भने, “लागत मूल्य उठाउन पनि प्रतिक्रेट २९० पाउनुपर्छ।”
अझै तीन महिना दानाको मूल्य यस्तै रहिरहे र अण्डाले मूल्य नपाए कुखुरापालन व्यवसाय छाड्नुपर्ने अवस्था सिर्जना हुने उनको गुनासो छ।



लाेकपाटी न्यूज
