पोखरा, माघ । अखिल क्रान्तिकारी गण्डकी प्रदेशको आयोजनामा पोखराको जनप्रिय बहुमूखी क्याम्पस अगाडि पम्प्लेट प्रदर्शन एवं कोण सभा सम्पन्न भएको छ । भेनेजुयलाको पछिल्लो राजनीतिक गतिरोध र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चालेको कदमको विरुद्धमा विरोध प्रदर्शन गरिएको हो ।
उक्त कोण सभालाई सम्बोधन गर्दै अखिल क्रान्तीकारी गण्डकी प्रदेश संयोजक क्षितिज सापकोटाले बोल्न पाउने स्वतन्त्र अधिकार सबैलाई रहेको बताउदै आफूहरु भेनेजुयलाका जनताको पक्षमा रहेको बताए । उनले भने “के सानो राष्ट्र स्वाधीन हुन सक्दैन ? सार्वभौम हुँदैन ? सधैं शक्तिशाली राष्ट्रको भय, डर र छत्रछायाँमा उभिनुपर्ने नियति हो ? हाम्रो स्वतन्त्रतापूर्वक बोल्न पाउने अधिकारका लागि लड्यौं, थुप्रै बलिदानी गर्यौं, आज हामी एउटा स्वतन्त्र राष्ट्र भेनेजुयलाको पक्षमा बोल्दा, लेख्दा र आफ्नो कुरा राख्दा अर्को राष्ट्रले स्पस्टिकरण सोध्ने ?”

‘साम्राज्यवादको नाइके आफैले आफैलाई लोकतन्त्रको ठूलो मसिहा ठान्ने अमेरिकाको यो दादागिरी अलोकतान्त्रिक छ’ सापकोटाले भने, ‘यो हस्तेक्षपविरुद्ध सरकारले नै आधिकारिक धारणामार्फत् निन्दा गर्नुपर्छ । हामी आफैमाथि हाम्रै स्वतन्त्रतामाथि अरुले धावा बोल्दा चुप कहिलेसम्म बस्ने ?’
अखिल क्रान्तिकारीका केन्द्रीय सचिव सापकोटाले आफूहरु न्यायको पक्षमा, भेनेजुयलाको जनताको पक्षमा र लोकतन्त्रको पक्षमा रहेको बताउँदै दादागिरीको विरुद्ध निरन्तर बोलिरहने बताए । अखिल क्रान्तिकारी गण्डकी प्रदेशको आयोजनामा भएको उक्त कार्यक्रममा पोखरा महानगरका अध्यक्ष विशाल तामाङले पनि बोलेका थिए ।



लाेकपाटी न्यूज

