काठमाडौं, १४ माघ । निर्मला पन्त हत्या प्रकरणमा शङ्काको घेरामा रहेका बम दिदीबहिनीले आफूहरु निर्दोष भएको दाबी गरेका छन् ।
रिपोर्टर्स क्लबमा सोमबार आयोजना गरिएको पत्रकार सम्मेलनमा दिदीबहिनी बबिता र रोशनी बमले मानव अधिकारकर्मी इन्द्रप्रसाद अर्यालले आफूहरु तथा छरछिमेकीसँग सोधपुछ नै नगरी झुठो प्रतिवेदन तयार गरेको भन्दै उनीमाथि कारवाही गर्नुपर्ने माग गरे ।
मानव अधिकारकर्मीको झुठो प्रतिवेदन र सञ्चारमाध्यमले निर्मला पन्तको हत्यामा आफूहरुको संलग्नतालाई जोडेर समाचार सम्प्रेषण गरेका कारण आफूहरु मानसिकरुपमा पीडित भएको बम दिदीबहिनीले बताए ।
दिदी बविता बमले मानव अधिकारकर्मीको गलत प्रतिवेदन तथा सञ्चारमाध्यमको समाचारका कारण आफूहरुको चरित्र हत्या भएको भन्दै विद्यालय जान तथा हिँडडुल गर्ने अवस्थासमेत नभएको गुनासो गरे ।
बहिनी रोशनी बमले आफूहरु निर्दोष रहेको बताउँदै साथीको नाताले निर्मला पन्त गृहकार्यका लागि घरमा आएको र दिउँसो २ बजे घरबाट फर्केको जानकारी दिए ।
अनाहकमा दिदीलाई २० दिन र आफूलाई सात दिन प्रहरी हिरासतमा राखिएको बताउँदै वास्तविक हत्यारा पत्ता लगाएर निर्मलालाई न्याय दिन तथा आफूहरुको पीडा हटाइदिन बहिनी रोशनीले सरकारसँग माग गरिन् ।



लाेकपाटी न्यूज

