पटिहानीमा महिला पत्रकारको राष्ट्रिय सम्मेलन हुने

journalist
लाेकपाटी न्यूज

चितवन, १२ माघ । पटिहानीमा पत्रकार महिला पत्रकारको राष्ट्रिय सम्मेलन हुन लागेकोमा स्थानीय अगुवाले खुसी व्यक्त गरेका छन् ।

पर्यटकीय गन्तव्यको सुचीमा परेको चितवनको पटिहानीमा नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिले उक्त सम्मेलन गर्ने भएको हो ।

शनिबार पत्रकार महासङ्घ चितवनसँगको अन्तरक्रियामा उक्त सम्मेलन यही माघ १६ र १७ गते गरिने जानकारी दिइयो । कार्यक्रममा स्थानीय अगुवाले सम्मेलनले यहाँको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्।
प्रदेश सभाका सांसद रामलाल महतोले पटिहानीलाई पर्यटकीय हवका रुपमा विकास गर्न लागिएको र यहाँको सम्भाव्यतालाई मध्यनजर गर्दै सरकारले नयाँ गन्तव्यका रुपमा पहिचान गरेको बताए । उनले देशभरका पत्रकारको उपस्थिति हुने कुराले आफूहरु उत्साहित बनेको पनि प्रष्ट पारे ।

भरतपुर महानगरपालिका वडा नम्वर २२ का अध्यक्ष विष्णुराज महतोले सम्मेलनलाई सभ्य र व्यवस्थित बनाउन पुर्ण सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

वडाले हाल करीब ३ करोडको लागतमा निर्माण गरिरहेका नमूना पार्क (अम्व्रेला स्टिट) नदी किनारमा सम्मेलनको मञ्च तयार भइरहेकाले यसको प्रचारप्रसारमा थप टेवा पुग्ने उनको भनाई छ ।

पर्यटन विकास समिति पटिहानीका अध्यक्ष खेम भट्टले पछिल्लो समय यहाँको पर्यटन विकास तिव्र बनेको बताउँदै पत्रकारको राष्ट्रिय सम्मेलनले पटिहानीको पहिचान अझ वृद्धि हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्यहरु कृष्ण गिरी, सिर्जना अर्याल, जिल्ला अध्यक्ष राधेश्याम खतिवडा, सचिव तीर्थ नेपाल र कोषाध्यक्ष प्रकाश ज्ञवालीले सम्मेलन सफलताका लागि स्थानीयले देखाएको सद्भावको सरहना गरे ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्