काठमाडौं, १३ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्यायका सन्दर्भमा केही राजदूतले अनावश्यक रुपमा गठजोर गरेको भन्दै आपत्ति जनाएका छन् ।
विश्व आर्थिक मञ्चको बैठकमा सहभागी हुन स्विजरल्यान्डको डाभोर्स पुगेका प्रधानमन्त्री ओलीले बिहीबार उनको सम्मानमा स्विजरल्यान्डका लागि आवासीय राजदूत दीपक धितालले आयोजना गरेको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै काठमाडौंस्थित राजदूतहरूलाई नेपालको आन्तरिक मामिलामा गुटबन्दी नगर्न सुझाव दिएका हुन् ।
“नेपालले शान्ति प्रक्रिया पूरा गरेको सन्दर्भमा केही राजदूतले अनावश्यक रुपमा, अत्तालिएर हो या के हो, गठजोर गरेको देखेँ । यस्तो गठजोर, गुटबन्दी आवश्यक छैन” उनले भने । राजदूतहरूले नेपालले गरेको द्वन्द्व समाधानलाई अवमूल्यन गरेको उनले बताए ।
“द्वन्द्व समाधान गर्नु नराम्रो हो र ? केही समस्या भए त्यसलाई हामी व्यवस्थापन गर्छौं” प्रधानमन्त्रीले भने, “द्वन्द्वको समाधानका बाँकी मुद्दा समाधान हामीले गर्ने हो । हिंसाको बेला भएको घाउखतमा मलम लगाउनुपर्छ । तीनलाई कोट्याउने होइन” उनले भने ।
नेपाल तानाशाही मुलुक नभएको र लोकतान्त्रिक शासन पद्धतिमार्फत समावेशी सत्ता सञ्चालन भइरहेको प्रधानमनत्री ओलीले बताए । “नेपाल तानाशाहीतर्फ जाने होइन, लोकतान्त्रिक व्यवस्था थप सुदृढ गर्नेतर्फ जाने हो । अब अर्कोतर्फ फर्कने सम्भावना छैन” उनले भने । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले नेपाल सकारात्मक बाटामा अगाडि बढेकाले प्रवासी नेपाली जनतालाई अलमलमा नपर्न र विदेशी मित्रलाई नेपालप्रति पूर्वाग्रही नहुन आग्रह गरेका हुन् ।
प्रधानमन्त्री ओलीले आगामी चैत १५–१६ मा काठमाडौँमा हुने लगानी सम्मेलनमा सहभागी भई सफल पार्न विदेशी लगानीकर्तालाई आग्रह गरे । नेपालले हिंसा समाप्त गरेको, हतियार र लडाकू व्यवस्थापन गरेको, हिंसाको नीति परित्याग गरेको र गणतन्त्रतर्फ गई असाधारण उपलब्धि हासिल गरिसकेको बताउँदै प्रधानमन्त्री ओलीले भने, “नेपाली जनताले राजनीतिक अधिकार मात्र नभई आर्थिक तथा सामाजिक अधिकार पनि पाएका छन्, नेपालको संविधान श्रेष्ठ छ, उत्कृष्ट छ र आवश्यकता अनुसार परिमार्जन हुनसक्छ ।”
उनले मुलुकको आवश्यकता, गन्तव्य तथा नेपाली जनताको अठोटका विषयमा विश्व आर्थिक मञ्चमा जानकारी दिन आफू डाभोर्स आएको जानकारी पनि दिए । आजको गोरखापत्रमा समाचार छ ।



लाेकपाटी न्यूज

