‘सभामूखले स्वेच्छिक अवकाश लिए’ : कांग्रेस (पूर्णपाठ)

congress_flag
लाेकपाटी न्यूज

काठमाडौं, ११ माघ । नेपाली कांग्रेसले संसदमा साझा नेताको भूमिकाबाट स्वेच्छिक अवकाश लिएको जिकिर गरेको छ ।

शुक्रबार संसदबाट पारित चिकित्सा शिक्षा विधेयकबारे आधिकारिक प्रतिक्रिया दिँदै कांग्रेसले सभामूख कृष्णबहादुर महराले तटस्थ भूमिका नखेलेको आरोप लगाएको हो । कांग्रेसले सरकारले विपक्षीरहित साम्यवादी सत्ताको अभ्यास गर्न खोजेकोसमेत आरोप लगाएको छ ।

शुक्रबार बेलुका ७ बुँदा धारणा सार्वजनिक गर्दै कांग्रेसले यस्तो बताएको हो । यस्तो छ कांग्रेसले सार्वजनिक गरेको ७ बुँदे धारणा ।

आज संसदमा भएको घटनालाई नेपाली कांग्रेसले गम्भीरतापूर्वक लिएको छ । त्यसै सन्दर्भमा हाम्रो निम्न मत सार्वजनिक गर्न चाहन्छौँ :

१. सरकार र यसको नेतृत्वले आफूभित्र जतनले राखेको अधिनायकवादी आकाङ्क्षालाई आजको घटनाले खुला उजागर गरेको छ ।

२. विपक्षीरहित राज्यप्रणाली हुनुपर्छ भन्ने शास्त्रीय विश्वासप्रति उहाँहरुको निष्ठा कायमै रहेको पुष्टि भएको छ ।

३. सिङ्गो सदनको साझा नेताको भूमिकाबाट सभामूखले स्वेच्छिक अवकाश लिएको सन्देश गएको छ ।

४. प्रधानमन्त्री स्वयंको अग्रसरतामा डा. केसीसँग भएको सम्झौता कार्यान्वयन नगर्न उहाँ लगायत सरकार, नेकपा र सभामुख समेतको संगठित प्रयत्नको परिणाम स्वरुप प्रधानमन्त्रीप्रतिको नागरिक विश्वासमा गम्भीर ढङ्गले ह्रास आएको छ ।

५. एकातर्फ शिक्षा र स्वास्थ्य राज्यको जिम्मेवारी भनेर घोषणापत्रमा लेख्ने अर्कातर्फ आफूसँगको बहुमतलाई निश्चित वर्गको हित पक्षपोषणमा अर्पित गरेर सरकारले आफूलाई मत दिने सामान्य नागरिकको भावनामा स्वयं आफै कुठाराघात गरेको छ ।

६. बहुमतको अर्थ विवेकको निलम्वन निश्चय नै होइन । तर डा. गोविन्द केसीको मागमा विगतमा आफै सहमति गर्ने, तोड्ने र अनशनको सत्र दिन पुग्दासम्म सम्वादको पहल नगरी ‘मरे हुन्छ’ भन्ने निलम्बित विवेकको सन्देश सरकारले प्रवाह गरेको छ ।

७. गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेका अस्पताल नामेट गर्ने दुष्प्रयास अघि बढाएर सरकारले प्रतिपक्षलाई द्वन्दका लागि खुला आमन्त्रण समेत गरेको छ ।

नेपाली कांग्रेसका आम साथीहरुसँगै यो मुद्दामा सरोकार राख्नु हुने तमाम देशवासीलाई आवश्यक विमति खुला ढङ्गले प्रकट गर्न हामी अपील गर्दछौँ । नेपाली कांग्रेस चाडै नै यस बारेमा राष्ट्रव्यापी रुपमा आफ्नो फरक मत प्रस्तुतिको कार्यक्रम सार्वजनिक गर्ने जनाउ दिन चाहन्छ ।

विश्वप्रकाश शर्मा
प्रवक्ता

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्