काठमाडौं, ११ माघ । नयाँ शक्ति पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भू–राजनीतिलाई केन्द्रमा राखेर सन्तुलित परराष्ट्र नीति निर्माण गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । उनले समृद्धिको साझा एजेण्डा बनाएर अघि बढ्नुपर्नेमा जोड दिए ।
राजधानीमा आयोजित ‘शान्ति र समृद्धिका लागि नेपालको दीर्घकालीन परराष्ट्रनीति’ विषयक विचार गोष्ठीमा नेता भट्टराईले शान्ति क्षेत्रको प्रस्तावलाई अघि बढाउन सुझाए । उनले भने, “हामीले शान्तिको पैरवी किन नगर्ने, विगतमा राजा वीरेन्द्रलेसमेत अगाडि सारेकोे शान्ति क्षेत्रको प्रस्तावलाई पुनःअगाडि बढाउने बेला भएको छ । हामीले त्यसतर्फ प्रयास गर्नु जरुरी छ ।”
नेपाली काङ्ग्रेसका नेता डा. रामशरण महतले विश्वको विशिष्ट पहिचान बोकेको देश नेपालले अन्तर्राष्ट्रिय सम्बन्धका हिसाबले कमजोर नभएको बताए । अबको प्राथमिकता आर्थिक विकास नै हुनुपर्नेमा जोड दिँदै डा. महतले नेपाल अगाडि बढ्न नसक्नाको प्रमुख कारण आन्तरिक नै रहेको बताए ।
“सम्बन्धका हिसाबले हामीले धेरै सद्भाव र मैत्री कमाएका छौँ । तर, आधार भनेको हाम्रो आन्तरिक नीति नै हो, अब भाषणमा होइन, आफ्नो क्षमतालाई मूल्याङ्कन गरेर व्यवहारमा उतार्ने बेला आएको छ”, डा. महतले भने ।
पूर्वराजदूतद्वय विजयकान्त कर्ण र शम्भूराम सिंखडाले देशमा राजनीतिक प्रतिबद्धता र दीर्घकालीन सोचको अभाव रहेको बताए । आधारभूत रुपमा राष्ट्रिय विषयमा सबै राजनीतिक दल एक हुनुपर्नेमा जोड दिँदै उनीहरुले राजनीतिक प्रतिबद्धता नै महत्वपूर्ण विषय भएको बताए ।
नापी विभागमा पूर्वमहानिर्देशक बुद्धिनारायण श्रेष्ठले अब देशको परराष्ट्र नीति समदूरीका आधारमा नभई सामिप्यताका आधारमा तय हुनुपर्नेमा जोड दिए । त्रिभूवन विश्वविद्यालय अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति कार्यक्रमका संयोजक डा. खड्ग केसीले मानव संशाधनलाई व्यवस्थापन गर्दै राष्ट्रिय चाहनालाई ध्यानमा राखेर परराष्ट्र नीति तय गर्नुपर्ने बताए ।



लाेकपाटी न्यूज

