काठमाडौँ । भेनेजुयलामा गरेको राजनीतिक हस्तक्षेपको कडा निन्दा गर्दै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार विज्ञप्ति निकालेका छन् ।
अमेरिकाले भेनेजुयलाको सत्ता पलटका लागि केही दिनअघिदेखि गरेको हस्तक्षेपको निन्दा गर्दै निकालिएको विज्ञप्तिमा प्रचण्डले आफूलाई त्यहाँका जनताको पक्षमा उभ्याएका छन् । अमेरिकाले भेनेजुयलाको आन्तरिक मामिलामा हस्तक्षेप गर्नु निन्दनीय भएको प्रचण्डले उल्लेख गरेका छन् ।
‘भेनेजुयलाको आन्तरिक मामलामा अमेरिका र उसका सहयोगीबाट गरिएको हस्तक्षेपको नेकपा कडा निन्दा गर्दछ’, प्रचण्डले निकालेको विज्ञप्तिमा उल्लेख छ, ‘अमेरिकाले भेनेजुयलाका जनतामा विभाजन ल्याएर हिंसा चर्काउने प्रयास गरेको छ । अमेरिकाले भेनेजुयलाको सार्वभौमसत्ता, शान्ति र प्रजातन्त्रलाई चुनौती दिएको कुरा निन्दनीय छ ।’
जनताको मतबाट प्रजातान्त्रिक विधिको सदुपयोग गर्दै निर्वाचित भएका त्यहाँका राष्ट्रपति निकोल मादुरोलाई मान्यता दिएर अघि बढ्न पनि प्रचण्डले अमेरिका र उसका सहयोगी राष्ट्रलाई आग्रह गरेका छन् । प्रचण्डले जनताबाट निर्वाचित मादुरोविरुद्ध षड्यन्त्र गरेर भेनेजुयलाको कार्यवाहक राष्ट्रपतिका रुपमा जुआन गुआइडोको घोषणालाई अमेरिकाले मान्यता दिनु त्यहाँका जनतामाथिको गम्भीर षड्यन्त्र भनेका छन् ।
‘अमेरिकासहितका मुलुकबाट जननिर्वाचित राष्ट्रपतिविरुद्ध गम्भीर षडयन्त्र भएको देखिन्छ’ उनले भनेका छन्, ‘अमेरिकाको यो प्रयास अरु देशको मामिलामा हस्तक्षेप मात्रै नभएर ‘कू’ गर्ने एउटा प्रयास पनि हो । यसलाई कुनै पनि सार्वभौम मुलुक र हामीले पनि स्वीकार्न सकिँदैन ।’ अध्यक्ष प्रचण्डले वामपन्थीहरुले पकड बनाएपछि अमेरिकाले भेनेजुयलामा एक दशकदेखि निरन्तर राजनीतिक हस्क्षेप गरेकोमा पनि चिन्ता जनाएका छन् ।
‘अमेरिकाले भेनेजुयलामा एक दशकदेखि आर्थिक प्रतिबन्ध लगाउँदै सैनिक आक्रमणको पनि डर देखाएर हिंसा र रक्तपात मच्चाउन खोजेको छ’, उनले भनेका छन्, ‘अमेरिकाको यस्तो कार्यले संयुक्त राष्ट्रसंघको चार्टर र शान्तिपूर्ण सह–अस्तित्वको सिद्दान्तलाई पनि गम्भी चुनौती दिएको छ।’
मादुरो सन् २०१८ मा भेनेजुयलाको राष्ट्रपति पदमा पुनस्विजयी भएका थिए । दोस्रो कार्यकालका लागि भर्खरै सपथ लिएका उनीमाथि अर्थतन्त्र कमजोर बनाएको र मानवअधिकार विरोधीको बिल्ला भिराउँदै अमेरिका र उसका सहयोगी मुलूकले आलोचना गरिरहेका थिए ।
आन्तरिक राजनीतिक संकट चलिरहेका बेला प्रतिपक्षी दलका नेता जुआन गुआइडोले आफैलाई कार्यवाहक राष्ट्रपति घोषित गरेपछि समस्या जटिल भएको हो । स्वघोषि कार्यवहाक राष्ट्रपति बनेका गुआइडोलाई अमेरिकासहितले मान्यता दिएको थियो । त्यसपछि जननिर्वाचित राष्ट्रपति मादुरोले अमेरिका र उसका सहयोगी राष्ट्रसँग सम्बन्ध तोड्ने घोषणा गरेका थिए ।



लाेकपाटी न्यूज

