सदनमा सरकार भर्सेस् काँग्रेस : चिकित्सा शिक्षा विधेयक पारित होला ?

Nepali congress
फाइल तस्बिर
लाेकपाटी न्यूज

काठमाडौं, ११ माघ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सदर र सडकबाट सरकारविरुद्ध आवाज उठाउने नीति लिएको छ । काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले सडक तताइरहेको छ । उता काँग्रेसले विभिन्न मुद्दामा सदन अवरुद्ध पार्दै आएको छ ।

हालै काँग्रेसले आफ्ना दुई पूर्वसभापतिको नाममा खोलिएको स्वास्थ्य संस्थालाई सरकारले खारेज गराउने प्रपञ्च रचेको आरोप लगाउँदै सदनमा हङ्गामा मच्चाइरहेको छ । त्यस्तै काँग्रेसले चिकित्सा शिक्षा विधेयक कुनै पनि हालतमा पास गर्न नदिने बताउँदै आएको छ । यतिबेला काँग्रेस अनशनरत डा. गोविन्द केसीको मागमाथि समर्थन जनाउँदै त्यसलाई सदन अवरुद्ध गर्ने एउटा हतियार बनाइरहेको छ ।

उता सरकार दुई तिहाईको बलमा शुक्रबार जसरी पनि चिकित्सा शिक्षा विधेयक पारित गर्ने ध्याउन्नमा छ । सरकार बल प्रयोग गरेर भएपनि विधेयक पारित गर्ने पक्षमा छ । काँग्रेस संसद्मा रडाको मच्चाएर सत्तापक्षलाई रोक्न प्रयासमा देखिनेछ ।

यसकारण पनि आजको प्रतिनिधिसभाको बैठक रोचक हुनेछ । काँग्रेसले यसअघिको सदनमा शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई घेरेर रोष्टममा जानबाट रोकेका थिए । तर, आज मर्यादापालकलाई व्यापक परिचालन गरेर भएपनि विधेयक प्रस्तुत गर्ने बताइएको छ ।

माघ ९ गते अर्थात् मंगलबार काँग्रेसको अवरोधका कारण सदनमा तनाव सिर्जना भएको थियो । सभामुख कृष्णबहादुर महराले आज संसद बैठक डाकेका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्