चिकित्सकलाई कारवाहीको सिफारिस

Doctors01
लाेकपाटी न्यूज

घोराही, १० माघ । जिल्ला प्रशासन कार्यालय दाङले बिरामीको उपचार नगरी आन्दोलनमा उत्रिएका सरकारी चिकित्सकलाई कारवाही गर्न राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आदेश दिएको छ । जिप्रकाको आदेशपछि प्रतिष्ठानले पनि कारवाहीका लागि स्वास्थ्य मन्त्रालयमा सिफारिस गरेको छ ।

गत माघ ३ र ४ गते प्रतिष्ठानमा कार्यरत चिकित्सकले बहिरङ्ग सेवा नदिई कर्तव्य पूरा नगरेकाले वरिष्ठ फिजिसियन डा. जीतनारायण यादव, अर्थोपेडिक डा. ओमप्रसाद अर्याल, एनेस्थेसियोजिस्ट डा. सुरेन्द्र कुँवर, रेडियोलोजिस्ट डा. रामेश्वर देवकोटा, पिडिया ट्रिक्स डा. कृष्णहरि सुवेदी र सर्जन रमेश बस्नेतलाई कारवाही गर्न जिप्रकाले प्रतिष्ठानलाई आदेश दिएको थियो । कारवाहीको आदेशको बोधार्थ स्वास्थ्य मन्त्रालयलाई पनि पठाइसकेको जिप्रकाले जनाएको छ ।

जिल्ला प्रशासनले प्रतिष्ठानलाई लेखेको पत्रमा प्रतिष्ठानका कर्मचारीको आन्दोलनमा नेपाल सरकारअन्तर्गतका चिकित्सकले सहयोग गरी ड्युटी नगरेकाले ती चिकित्सकलाई कारवाही गर्नुपर्ने उल्लेख गरेको प्रजिअ गोविन्द रिजालले जानकारी दिए । प्रतिष्ठानले अवकाश दिन थालेपछि कर्मचारी आन्दोलित छन् । चिकित्सकले तीनै कर्मचारीलाई साथ दिएर दुई दिन बिरामी जाँच गरेका थिएनन् ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा. डा. सङ्गीता भण्डारीले जिल्ला प्रशासनको पत्रानुसार प्रतिष्ठानले पनि कारवाही गरेर स्वास्थ्य मन्त्रालय, मेडिकल काउन्सिल लगायतको केन्द्रीय निकायमा कारवाहीका लागि सिफारिश गरिएको जानकारी दिइन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्