काठमाडौं, ८ माघ । सभामुख कृष्णबहादुर महराले ब्रिटिश गोर्खा भूतपूर्व सैनिकले बेलायती सेनामा रहेर गरेको बलिदानी र योगदानअनुरुपकोे सेवा, सुविधा र सम्मान पाउनुपर्ने बताएका छन् ।
ब्रिटिश गोर्खा भूपू सैनिक र उनका परिवारलाई वंशजको आधारमा नेपाली नागरिकताको निरन्तरता तथा पूँजी पलायन विषयक कार्यक्रममा सभामुख महराले सो धारणा राखेका हुन् । उनले गोर्खा भूपू सैनिकका आवाजलाई सम्बोधन गर्न सरकारबाट पहल कदमीको आवश्यकतासमेत औँल्याए ।
‘भूपू गोर्खा सैनिकको पैतृक र आर्जित सम्पत्ति विदेश पलायन हुन नदिनेतर्फ राज्य सहज र सचेत हुनुपर्छ, नागरिकताजस्तो संवेदनशील विषयमा भने संविधानको मर्म र भूपूका भावनालाई सम्मान गर्ने ढङ्गबाट निष्कर्षमा पुग्नुपर्छ,’ सभामुख महराले भने, ‘नेपालको स्वाधीनता र राष्ट्रियतालाई अक्षुण राख्ने कुरालाई केन्द्रबिन्दुमा राखेर अघि बढ्ने विषयमा कुनै कन्जुस्याइँ हुँदैन ।’
कार्यक्रममा प्रतिनिधिसभा अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिका सभापति पवित्रा निरौलाले ज्यानको बाजी लगाएर गरेको योगदानबापत पाउनुपर्ने मानसम्मान प्राप्तिका लागि गोर्खा भूपू सैनिकले उठाउँदै आएको माग र आन्दोलनप्रति ऐक्यबद्धता प्रकट गरिन् ।
सांसद राधेश्याम अधिकारीले तत्काल सम्पत्ति हस्तान्तरण, अंशबण्डालगायतका विषयमा परेका अप्ठेरोलाई सहजीकरण गर्ने कानून निर्माणमा जोड दिन तथा वंशजका आधारमा नागरिकता प्राप्त गर्नेलगायतका अरु विषयलाई दीर्घकालीन मागका विषय बनाएर अघि बढ्न ब्रिटिश गोर्खा भूपू सैनिकलाई सुझाव दिए ।



लाेकपाटी न्यूज

