काठमाडौं, ८ माघ । स्मार्ट सार्वजनिक शौचालय निर्माण तथा सञ्चालनका लागि कार्यदल गठन भएको छ । काठमाडौँ महानगरपालिकाले प्रवक्ता ईश्वरमान डङ्गोलको संयोजकत्वमा उक्त कार्यदल गठन गरेको हो ।
गठित कार्यदलले स्मार्ट सार्वजनिक शौचालय निर्माण तथा सञ्चालन गर्न कार्यविधि तयार गर्नेछ । महानगरले विगत दुई वर्ष अघिदेखि नै विभिन्न ४१ स्थानमा स्मार्ट सार्वजनिक शौचालय निर्माण गर्ने लक्ष्य लिएको भए पनि हालसम्म काम अघि बढ्न सकेको थिएन ।
गठित समितिका सदस्यमा अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालयका प्रमुख महेश काफ्ले, राजश्व विभागका निर्देशक शिवराज अधिकारी, कानून महाशाखा प्रमुख वसन्त आचार्य र कानून महाशाखाकी शाखा अधिकृत शरी वाग्ले रहेका छन् ।
आवश्यकताअनुसार सम्बन्धित क्षेत्रका कर्मचारीलाई परिचालन गर्नसक्ने अधिकार कार्यदललाई दिइएको छ भने स्मार्ट सार्वजनिक शौचालय बनाउन उपयुक्त ठाउँको पहिचान गर्ने, स्थानअनुसारको डिजाइन यकिन गर्ने, प्रस्तावहरुको विश्लेषण गर्ने र उपयुक्त स्थान र डिजाइनमा तयार भएको प्रस्तावबमोजिम निर्माण तथा सञ्चालन गर्न निर्णय गराउने जिम्मेवारी समितिलाई दिइएको छ ।
कम लागतमा शौचालय निर्माण गर्ने योजनामा कामपा छ । अहिले आवश्यकताअनुरुप सार्वजनिक शौचालय नहँुदा र भएका केही स्थानका पनि अत्यन्तै फोहर रहँदा नागरिक समस्यामा परेका छन् ।



लाेकपाटी न्यूज
