रुपन्देही, ८ माघ । प्रदेश ५ मा यतिखेर प्रदेशसभा र मन्त्रालयले खरिद गरेको गाडी विषय निकै चर्चामा छ । चिया पसलदेखि संसद्सम्म गाडीकै चर्चा भइहेको छ । संघीय सरकारमा बाइबडि विमान खरिद प्रकरणमा भएको आर्थिक घोटाला जस्तै प्रदेश ५ मा टाटा कम्पनीको स्ट्रोम सफारीको चर्चा भएको हो । यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।
लेखा समितिअन्तर्गत गठन गरिएको छानविन उपसमितिले प्रारम्भिक प्रतिवेदन सार्वजनिक गर्दै भ्रष्टाचार भएको संकेत गरेको छ । १३ वटा बुँदामा प्रश्न उठाउँदै केही प्रक्रियागत त्रुटिसमेत प्रतिवेदनले औंल्याएको छ ।
त्यो प्रारम्भिक प्रतिवेदनले गहन छानविनका लागि समय र जनशक्ति कम भएको निष्कर्ष निकाल्यो भने अर्को तर्फ नियम ठिक भए पनि नियत बेठिक भएकाले थप अध्ययनका लागि समय र जनशक्ति माग गर्यो । उपमितिले प्रतिवेदनमै गाडी कम्पनी र सरकारले समेत पूर्ण विवरण अझै नदिएको उल्लेख गरेको छ । कागजपत्रकै कारण उपसमितिले अधुरो प्रतिवेदन सार्वजनिक गर्नुपरेको बताएको छ ।
‘एकातिर प्राविधिक बिषयको जानकारी सदस्यलाई भएन, अर्कोतर्फ पूरा कागजपत्र पनि पाइएन, त्यसकारण थप जनशक्ति र समय चाहिएको हो,’ लेखा समितिको बैठकमा उपमितिका संयोजक कुलप्रसाद पोखरेलले भने । उनले नियम र प्रक्रिया मिलेको भए पनि नियत ठिक नभएको प्रष्ट रुपमा भनेका छन् । उपसमितिले नियतमा खोट रहेको बताउँदै थप समय र जनशक्ति माग गरेपछि लेखा समितिको बैठकले त्यसलाई सम्बोधन गरेको छ ।



लाेकपाटी न्यूज