सरकार जनताको जनजीविकासँग गम्भीर भएन : प्रवक्ता शर्मा

Bishwaprakash Sharma
लाेकपाटी न्यूज

भीमदत्तनगर, ७ माघ । नेपाली काँग्रेसका प्रवक्ता प्रवक्ता विश्वप्रकाश शर्माले कञ्चनपुरको भीमदत्तनगरपालिका–२ का १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा गम्भीर भएर अनुसन्धान गरी दोषी पत्ता लगाउन काँग्रेसले दबाब दिँदै आएको बताएका छन् ।

सोमबार नगरपालिका–२ स्थित निर्मलाको घर पुगेका प्रवक्ता शर्माले उक्त प्रकरण काँग्रेसले संसद्मा उठाउँदै आएको बताए । ‘निर्मला प्रकरणको अनुसन्धान गर्न काँग्रेस सदन र सडकबाटै शसक्तरूपमा अघि बढ्छ,’ उनले भने, ‘घटनास्थलबाटै भएका कमी कमजोरी वा लापरबाहीबाट अनुसन्धान थाल्नुपर्छ ।’ भेटमा निर्मलाकी आमा दुर्गादेवीले सत्यतथ्य छानबिन गरी हत्यारा पत्ता लगाउन पहल गरिदिन आग्रह गरिन् ।

यसैगरी प्रवक्ता शर्माले वर्तमान सरकार जनताको जनजीविकासँग गम्भीर नभएको आरोप लगाएका छन् । नेपाल प्रेस युनियन कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले दुईतिहाइ बहुमतको सरकारका पालामा देशमा अशान्ति, महङ्गी तथा भ्रष्टाचार निकै बढेको बताए ।

उनले जनताका दैनिक उपभोग्यका वस्तुमा मूल्य आकासिँदासमेत सरकार त्यसतर्फ उदासीन बनेको बताए । देशमा हत्या, हिंसा तथा बलात्कारका घट्ना दिनप्रतिदिन घट्नुको सट्टा बढिरहेको बताउँदै नेता शर्माले भने, ‘बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तले न्याय पाउनेमा विश्वासै छैन ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्