गच्छदारको आरोप- सरकारले गिरिजालाई ओझेलमा पार्‍यो

Bijaya gachchhadar
लाेकपाटी न्यूज

काठमाडौं, ७ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ । काँग्रेसले आफ्ना दुई पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा खोलिएको अस्पताललाई संघीय मातहतमा ल्याउन माग गर्दै बैठक अवरुद्ध गरेको हो ।

काँग्रेसका सांसदहरुले बैठक सुरु हुनेबित्तिकै उठेर विरोध जनाएका थिए । त्यसपछि सांसद विजयकुमार गच्छदारले काँग्रेसमाथि सरकारले राजनीतिक पूर्वाग्रह राखेर दुई अस्पताललाई संघीय मातहतमा नराखेको आरोप लगाए । बिपी कोइराला श्वासप्रश्वास केन्द्र र सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई सरकारले केन्द्रको मातहतमा नराख्ने निर्णय गरेको हो ।

सोमबारको बैठकमा गच्छदारले सरकारले गठन आदेश नसच्याएसम्म बैठक अवरुद्ध पार्ने चेतावनी दिए । त्यसपछि सभामुख महराले १५ मिनेटका लागि बैठक स्थगित भएको जानकारी दिए ।

सांसद् गच्छदारले गणतन्त्र स्थापनाका लागि योगदान दिएका गिरिजाप्रसाद कोइरालाको नाममा खोलिएको संस्थामाथि सरकारले गरेको निर्णयले काँग्रेस र गिरिजालाई ओझेलमा पार्न खोजेको बताए ।

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्