कार्यकर्तालाई देउवाको निर्देशन- अर्को चुनाव जित्नेगरी तयारी गर्नुस्

sher Bahadur Deuwa
लाेकपाटी न्यूज

दमौली, ६ माघ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र अनुशासनको खाँचो रहेको बताएका छन् ।

नेपाली काँग्रेस तनहुँ कार्यलयले आइतबार दमौलीमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले अनुशासनभन्दा बाहिर गएर कसैले पनि काम गर्न नहुनेमा जोड दिए ।

विशेष अधिवेशनका नाममा फैलाइएको हल्लाको पछाडि नलाग्न आग्रह गर्दै पूर्व प्रधानमन्त्री तथा सभापति देउवाले केही गुनासा भए पार्टीभित्रै बसेर छलफल गर्न सकिने तर विधि विधानबाहिर गएर सञ्चालन हुने गतिविधि पार्टीलाई मान्य नहुने बताए ।

सबै एकजुट भएर अगाडि बढे काँग्रेसलाई कसैले पनि पराजित गर्न नसक्ने भएकाले अनुशासन समिति बनाएर छाडातन्त्र अन्त्य गरिने उल्लेख गर्दै उनले एउटा चुनाव हार्दैमा निराश नहुन र आगामी चुनाव जित्ने गरी तयारी गर्न निर्देशनसमेत दिए ।

महासमिति बैठकबाट पारित विधान उत्कृष्ट बनेको जिकिर गर्दै गर्दै सभापति देउवाले राजनीतिक पार्टीमा तलदेखि माथिसम्म समावेशी बनाएर लैजान बनेको विधान काँग्रेस पार्टीको आत्मविश्वासको प्रतिक भएको बताए ।

तनहुँको शुक्लागण्डकीमा रहेको जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र खारेज हुन नदिने बताउँदै सभापति देउवाले सरकार हत्या, हिंसा र बलात्कारका दोषीलाई कारवाही गर्न असफल भएकोले उसका क्रियाकलापविरुद्ध आन्दोलनका लागि तयार रहन कार्यकर्तालाई निर्देशन पनि दिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्