सिइओ भट्ट भन्छन्- टुटल सुरक्षित छ

Sikshit Bhatta
लाेकपाटी न्यूज

काठमाडौं, ६ माघ । यातायात व्यवस्था विभागले ‘टुटल’ र ‘पठाओ’को सेवा गैरकानूनी भनेपछि प्रहरीले केहीलाई नियन्त्रणमा लियो । यी दुई एप प्रयोग गरेर मोटरसाइकल तथा स्कुटरले भाडामा मान्छे बोकिरहेको थियो । तर, प्रधानमन्त्रीले टुटलको सेवालाई नरोक्न भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई निर्देशन दिए । त्यसपछि टुटलले राम्रै चर्चा पाएको छ ।

टुटलमार्फत एक ठाउँबाट अर्को ठाउँमा जानका लागि आफ्नो गन्तव्य र आफू रहेको स्थानबारे जानकारी एपमार्फत गराउनुपर्छ । त्यसपछि मोटरसाइकल तपाईलाई लिन आउँछ ।

पठाओ बंगलादेशी एप हो भने टुटल नेपाली । टुटलका सिइओ शिक्षित भट्ट हुन् ।

सिइओ भट्टका अनुसार नेपालमा यसको प्रयोगकर्ता लगभग २ लाख छन् । टुटलले नेत्रविहीन तथा अपाङ्गता भएका व्यक्तिहरुको यात्रालाई सहज बनाएको उनी बताउँछन् ।

एक भिडियो अन्तर्वार्तामा भट्टले कुन मानिस कुन चालकसँग छन् भन्ने थाहा पाउनका लागि ट्रयाकिङ्ग डिभाइस राखिकाले यो सुरक्षित भएको बताए । उनले आफूहरु यसलाई अझ सुरक्षित बनाउन लागिरहेको उल्लेख गरे ।

कार रेन्टल सर्भिसहरुले रातो नम्बर प्लेटमा भाडाका मान्छे बोकेको उदाहरण दिँदै सिइओ भट्टले सरकारले यस विषयमा नियम परिवर्तन गर्नुपर्ने बताए ।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले नै टुटललाई नरोक्न निर्देशन दिएको बताउँदै भने, ‘अब टुटललाई कसले रोक्न सक्छ र ?’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्