रेल्वे सेवा बन्द भएपछि समस्या

Train001
लाेकपाटी न्यूज

रत्ननगर, ६ माघ । सुगम जिल्लाको दुर्गम बस्तीको रूपमा परिचित ठोरी गाँउपालिकाको भारतीय सिमावर्ती क्षेत्रबाट चल्ने रेल्वे सेवा तीन वर्षदेखि बन्द भएपछि स्थानीयवासी मर्कामा परेका छन् ।

यहाँ उत्पादित लाखौँ रुपैयाँको फलफूल तथा अन्नबालीको मुख्य बजार पश्चिम चम्पारणको नरकटियागञ्जसम्म पुग्ने सवारी छोटी लाइन रेल बन्द भएपछि स्थानीयवासी समस्यामा परेका हुन् । ठोरीमा चार दशकदेखि छोटी लाइन रेल सञ्चालनमा थियो ।

भारत सरकारले सन् २०२० सम्म भिखना ठोरीदेखि नरकटियागञ्जसम्म वडी लाइन विस्तार गर्ने योजनासहित रेलको लिक निर्माण गर्ने कामलाई अगाडि बढाइरहेको छ । ‘भारतीय व्यापारी घरघरमै फलफूल किन्न आउँथे,’ ठोरी–१ का कृषक चन्द्रबहादुर बोहोराले भने, ‘रेल चल्न छाडेपछि गाउँमै बाँडेर फलफूल सक्नुपर्ने अवस्था छ । हामी जस्ता कृषकलाई जीविका चलाउनै गाह्रो हुन थालेको छ ।’

ठोरीमा उत्पादन हुने रुख कटहर, भूइँ कटहर, आँप, लिच्ची, केरा भारतीय बजारमा बढी माग हुने गरेको थियो । यहाँका मानिस कृषि उत्पादन बिक्री गर्न, उपचार गर्न, दैनिक उपभोग्य सामान खरिद गर्न तथा सदरमुकाम वीरगञ्जसम्म पुग्न पनि रेलको प्रयोग गर्दथे ।

रेलको ठाउँ भनेर चिनिने गरिएको ठोरीमा यहाँको सीमावर्तीबाट चल्ने सवारी रेल, मालबाहक रेल सञ्चालनमा छैनन् । रेल बन्द भएकै कारण यहाँका कृषकले फलफूलका बिरुवा रोप्न छाडेका छन् ।

उत्पादित वस्तुले बजार नपाएपछि फलफूल, अन्नबाली बिक्री गरेर घर व्यवहार चलाउने स्थानीयवासीको आर्थिक अवस्था बिग्रिएको छ । ‘भारतीय बजारको मात्रै भर पर्नुहुँदैन,’ गाउँपालिका–१ का अध्यक्ष रामप्रकाश कुँवरले भने, ‘समस्याको समाधान गर्न चितवनको भरतपुर र पर्साको वीरगञ्जको बजारसम्म जोडिनुपर्छ । यसका लागि कच्ची सडकलाई पक्की बनाउनुपर्ने हुन्छ ।’

ठूला अस्पतालको सेवा नरहेको यहाँका स्थानीयवासीले उपचार गर्न ठोरीदेखि वीरगञ्ज र भरतपुरका अस्पताल पुग्न ७० किलोमिटरको कच्ची बाटो प्रयोग गर्नुपर्छ । तीनतर्फ चितवन राष्ट्रिय निकुञ्ज र दक्षिणमा भारतीय खुल्ला नाका हुँदा सम्भावना प्रशस्त रहेको ठोरी पूर्वाधार विकासमा कमजोर छ । बजेट थोरै हुँदा विकासले गति लिनसकेको छैन । चालु आर्थिक वर्षमा रु. ३१ करोड २७ लाख बराबरको बजेट अनुमान गरिए पनि ठूला पूर्वाधारमा बजेट अभाव छ । यहाँका दर्जन बढी खहरे खोलाले पु¥याउने क्षति अर्को समस्या हो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्