सुर्खेत, ६ माघ । कर्णाली प्रदेश सरकारका मूख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णाली प्रदेश निर्माणको फरक डिजाइन दिन विज्ञहरुलाई आग्रह गरेका छन् ।
कर्णाली प्रदेश योजना आयोगद्वारा आयोजित दुईदिने प्रथम ‘आवधिक योजना आधारपत्र’ निर्माणसम्बन्धी पूर्वतयारी कार्यशाला गोष्ठीको समापनमा मूख्यमन्त्री शाहीले कर्णालीको विकास मोडेल पृथक स्वरुपमा तयार गर्न विज्ञहरुलाई आग्रह गरेका हुन् । ‘पैसा नभएर कर्णाली विकास नभएको होइन,’ मूख्यमन्त्री शाहीले भने, ‘यहाँ दूरदृष्टि र सही सोच आवश्यक छ ।’
प्रदेश विकासको गतिलाई बढाउने र यहाँको नयाँ कामको खोजी गरी कर्णाली सरकारलाई सघाउनेतर्फ सबैको ध्यान जानुपर्नेमा उनको जोड थियो । कानूनले समेत कर्णालीको विकासमा अवरोध पुर्याएको भन्दै मूख्यमन्त्री शाहीले यो प्रदेशको विकासमा अब सांस्कृतिक क्रान्ति पनि त्यत्तिकै आवश्यक रहेको औँल्याए ।
आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले क्षेत्रगत विशेषज्ञता प्राप्त गरेका व्यक्तिहरुको सुझावले कर्णाली सरकारलाई अघि बढ्न सहयोग पुग्ने बताए ।
प्रदेश योजना आयोगका उपाध्यक्ष डा. पूण्यप्रसाद रेग्मीले छोटो समयमा विज्ञबाट प्राप्त भएको सल्लाह सुझावले यो प्रदेशको दीर्घकालीन विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे ।



लाेकपाटी न्यूज

