६ माघ । मधेश आन्दोलनका प्रथम शहिद रमेश महतोको परिवारमा ढिलै भएपछि खुसी सञ्चार भएको छ । परिवारका एकजना सदस्यले रोजगारीले बुढेसकाल धान्ने सहारा पाएपछि रमेशका पिता रविले आँशु थाम्नै सकेनन् । ०६३ को मधेश आन्दोलन सम्झँदै रविले भने, ‘म जस्ता धेरै पिताले पुत्र गुमाएर पनि अधिकार र मुद्दा स्थापित नभएको सुन्दा ज्यादै दुःख लाग्छ । बुढेसकाल धान्ने सहारा अर्को छोरालाई मधेश सरकारले जागिर दिएर हाम्रो पारिवारिक समस्या सामाधान गरिदिएको छ, उनले भने, ‘अधिकार र मुद्दा स्थापित गराएर राजनीतिक समस्या समाधान भएको देख्ने लालसा छ ।’ यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।
प्रदेश–२ को सरकारले शनिवार लहानमा आयोजना गरेको १२ औं मधेस बलिदानी दिवस तथा शहिद परिवारको सम्मान कार्यक्रममा रमेशका पिता रवि महतोलाई संघीय समाजवादी फोरमका अध्यक्ष एवं उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले सम्मानसँगै माइलो छोरा रामसोभित महतोलाई जागिरको पत्र प्रदान गरे । जागिरका लागि मूख्यमन्त्री कार्यालयमा सम्पर्क गर्न आउनु भनेर रामसोभितको नामको पत्र रविलाई प्रदान गर्दा यादव भावुक भए । उनले आँशु रोक्नै सकेनन् । कारुणीक र भावुक मोहलले उपस्थित सबैको आँखा रसाएको थियो ।
मधेस आन्दोलनको क्रममा सहादत दिएका र राज्यको सेवा सुविधाबाट वञ्चित रहेका ५८ मध्ये ४६ सहिद परिवारलाई शनिबार सम्मानसँगै परिवारका एक सदस्यलाई जागिरको पत्र पदान गरिएको थियो ।
मूख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जिल्ला जिल्लामा मान्छे खटाएर सहिदहरूको लागत संकलन गरेको थियो । सो तथ्यांकलाई आधार मानेर सरकारले ४६ जनाका परिवारका एक सदस्यलाई रोजगारीको व्यवस्था गरेको छ । बाँकी १२ सहिदमध्ये बारा फेटा १ का शहिद मजिद मोहम्मद मंसुरकी श्रीमतीले जागिर पाइसकेकी छन् । पहिलो मधेस आन्दोलनका सहिद लहानका अनिस अन्सारीको परिवारबाट एकजना, बेचन यादवको परिवारबाट एकजना, प्रमोद सदायको परिवारबाट एकजना, पर्सा जिल्ला विरगन्ज महानगरपालिका १६ का सहिद सोहनप्रसाद गुप्ताकी श्रीमती स्थानीय तह निर्वाचनमा वडा सदस्यमा निवार्चित भएकी छन् । महोत्तरीको बर्दिबास नगरपालिका ८ का सहिद रामशिला मण्डलको परिवारमा रोजगारी गर्ने कोही नभएको तथ्यांक मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पेस भएको छ । महोत्तरीकै जलेश्वर नगरपालिकाका शहिद गणेशप्रसाद चौधरीकी बुहारी र शहिद रोहनप्रसाद चौधरीका आमा प्रदेश सांसदमा निवार्चित भइसकेकी छन् ।



लाेकपाटी न्यूज

