कर्मचारी समायोजनले एसईई परीक्षा अन्यौलमा

patrapatrika
लाेकपाटी न्यूज

काठमाडौं, ६ माघ । कर्मचारी समायोजनाको गम्भीर असर यस वर्षको एसईई परीक्षामा पर्ने देखिएको छ । समायोजनका लागि आवेदन दिएका कर्मचारी अन्यत्र जाने भएपछि परीक्षामा समस्या पर्न थालेको हो । यो खबर आजको नेपाल समाचारपत्रमा उल्लेख छ ।

समायोजनको चर्चासँगै कर्मचारी अलमल पर्दा कति विद्यार्थीले कुन विषयमा परीक्षा दिने हो भन्ने विषयमा अहिलेसम्म कुनै तथ्यांक तयार हुन सकेको छैन । अधिकांश कर्मचारीले समायोजना फारम भरेर अन्यत्र सरुवा हुने सम्भावना देखेपछि राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षाको प्रकृया पूरा नभएसम्म परीक्षा नियन्त्रण कार्यालयका सबै कर्मचारीलाई यथावत राख्नुपर्ने आवाज उठाएको छ । यसका लागि शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई पत्र बुझाइएको बोर्डका अध्यक्ष प्राडा चन्द्रमणि पौडेलले जानकारी दिएका छन् ।

‘एकातिर कर्मचारीको लफडा भइरहेको र अर्कोतिर एसईई परीक्षा सम्पन्न गर्न समस्या परिरहेको अवस्थामा मन्त्रालयले नै कर्मचारी व्यवस्थापन गर्नुपर्ने अवस्थामा त्यसतर्फ ध्यानाकर्षण गराउन पत्राचार गरेका हौँ’ –उनले भने ।

बोर्डले गत पुस २९ गते पठाएको पत्रमा खारेज भएको निकायमा कर्मचारी नखटाउन आग्रह गर्दै करिब साढे ४ लाख विद्यार्थी सहभागी हुने परीक्षा सञ्चालन गर्न गम्भीर समस्या पर्ने भएकाले पनिकामा कार्यरत कर्मचारीलाई तत्काल सरुवा नगर्न भनिएको छ ।

उक्त पत्रमा सहमति नलिइ मनपरी रुपमा कर्मचारीलाई एसइइ परीक्षा कार्यालयमा काजमा सरुवा गरिएकोमा आपत्ति जनाइएको छ ।

शिक्षा ऐनले खारेज गरिसकेको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीमा मन्त्रालयले छुट्टै परीक्षा नियन्त्रक पठाएको छ । हाल बोर्डअन्तर्गत दुई जना परीक्षा नियन्त्रक कार्यरत छन । पनिकामा हाल ४० जना कर्मचारी कार्यरत छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्