‘धर्तीमा गोविन्द केसी मात्रै छैनन्’ : मन्त्री बाँस्कोटा

gokul baskota
लाेकपाटी न्यूज

माघ ५ । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले प्रत्येक सञ्चार माध्यममा श्रमजिवी पत्रकारहरुको न्यूनतम पारिश्रमिक लागू गराएरै छाड्ने बताएका छन् ।

नेपाल पत्रकार महासंघ भक्तपुर जिल्ला शाखाको २१ औ साधारण सभाको उद्घाटन गर्दै उनले श्रमजिवी पत्रकारहरु एवं कर्मचारीको न्यूनतम पारिश्रमिक लागू गर्नबाट सरकार कुनै हालतमा पछि नहट्ने बताएका हुन् ।

उनले भने, ‘‘न्यूनतम पारिश्रमिक लागू भयो भने सञ्चारमन्त्रीलाई कसरी सेकाउनुपर्छ भनेर बैठक बस्दैछ रे, मन्त्री बदलिएलान् । तर, नेकपा नेतृत्वको सरकार अब चार वर्ष कुनै हालतमा बदलिदैन, जो सुकै मन्त्री भएपनि यो सरकारले श्रमजिवीको न्यूनतम पारिश्रमिक लागू गराएरै छोड्छ ।’’

मिडियाले पत्रकारिता नगरी सत्ता पक्ष र प्रतिपक्षको भूमिका निर्वाह गर्न थालेको टिप्पणी गर्दै उनले सरकार विरुद्ध षडयन्त्रको अभ्यास धेरै दिन नटिक्ने विचार व्यक्त गरे । डा. गोविन्द केसीले आफ्नो मागविरुद्ध आफै अनशन बसेको टिप्पणी गर्दै उनले नेपालको मीडिया केसीले देखाएको बालहठको पछि लागेको बताए ।

केसीको माग पूरा गर भनेर एउटा पत्रकारले भन्नु गलत भएको बताउदै मन्त्री बाँस्कोटाले भने, ‘‘केसीले सोचेको कुरा उहाँ धर्तीमा एक्लै भएको भए पनि पूरा गर्न सक्नु हुन्थेन, उहाँ आफै प्रधानमन्त्री भए पनि सतप्रतिशत माग पुरा गराउन सक्नुहुन्नँ ।’’

महासंघले प्रकाशित गरेको स्मारिकाको विमोचन समेत गर्दै मन्त्री बाँस्कोटाले आफू सरकारमा हुँदा केसीको माग पूरा नगर्ने अहिले माग पूरा गर्नुपर्छ भन्ने प्रवृत्ति गलत भएको बताए । सांसद महेश बस्नेतले ठूला मिडिया सरकारविरुद्ध अपवाह फैलाएर बदनाम गराउन खोजेको आरोप लगाए ।

पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले प्रेस काउन्सिल र सूचना विभागबाट हुने सबै कामलाई अब प्रदेश र स्थानीय सरकारमा हस्तान्तरण गर्नुपर्ने बताए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्