तयारी मासुको आयात बढ्यो

MEAT
लाेकपाटी न्यूज

काठमाडौं, ५ माघ । चालु आर्थिक वर्षको पहिलो पाँच महीनामा ४२ लाख ८९ हजार ७ सय ३८ केजी तयारी मासु तथा माछा आयात भएको छ ।

पाँच महिनामा करीब रु ८५ करोड ५६ लाख दुई हजार मूल्य बराबरको हाडरहित मासु, माछा, घुङ्गी आयात भएको भन्सार विभागले प्रस्तुत गरेको चालु आर्थिक वर्षको आयात विवरणमा उल्लेख छ ।

भारत, फ्रान्स, इटली, नेदरल्याण्डस्, थाइल्याण्ड, चीन, अष्ट्रेलिया, नर्वे, भियतनाम, बङ्गलादेश, सिङ्गापुर, जापान, गरी १२ देशबाट अष्ट्रिच, टर्की, हाँस, बङ्गुर, भेडा कुखुरा, विभिन्न थरीका माछा, झिङ्गे माछा तथा समुद्रमा पाइने विभिन्न जीवका तयारी मासु आयात भएको हो ।

आगोमा सेकाएको, सग्लो तर मरेको, हिउँले ढाकिएको र जिउँदो माछा आयात भएको छ । जिउँदो बाहेक अन्य आयातित वस्तु नेपालका तारे होटेलमा खपत हुने गरेको छ । भन्सार विभागको तथ्याङ्कले नेपालमा निर्यातभन्दा आयातको अंश २३ प्रतिशतले बढेको उल्लेख गरेको छ । एघार दशमलव दुई प्रतिशत निर्यात हुँदा ३४ दशमलव शून्य दुई प्रतिशतले आयात बढेको छ ।

चालु आर्थिक वर्षको पाँच महीनामा कूल आयात रु ६ खर्ब ७ अर्ब छ भने निर्यात रु ३७ अर्ब ५० करोडमा सीमित हुन पुगेको छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्