पर्वत, ५ माघ । नेपालमा दिन प्रतिदिन मुटुरोगका बिरामी बढ्दै गइरहेका छन् । कुल जनसङ्ख्याको १० देखि १५ प्रतिशत मुटुरोगी रहेको तथ्याङ्क देखिन्छ । जन्मजात मुटुरोगीको सङ्ख्या एक प्रतिशत रहेको छ ।
मानिसले सामान्य आफ्नो जीवनशैलीमा लापर्वाही गर्दा पनि मुटुरोगबाट ग्रसित हुने गरेको वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराईले बताए । उनले जीवनशैली र खानपिनमा सुधार गर्ने हो भने मुटुरोगबाट धेरै हदसम्म बच्न सकिने पनि बताए ।
पर्वतको कुश्मा आएका डा. भट्टराईले मानिसको जीवनशैलीलाई साधारण बनाउन सकियो भने मुटुरोग लाग्ने सम्भावना कम हुने जानकारी दिए । धुम्रपान नगर्ने, शरीरमा उच्च रक्तचाप र चिनीको मात्रा घटाउने, तौल नियन्त्रण गर्ने र नियमित भोजनमा कार्बोहाइडे«डजन्य चीज कम खानाले मुटुरोगबाट बच्न सकिने उनको सुझाव छ ।
भट्टराईका मुटुरोगबाट बच्नका लागि भात, आलु, बोसोजन्य मासु, र चिल्लोपदार्थ कम खानुपर्छ । त्यसैगरी फलफूल र सागपात बढी मात्रामा खाने र नियमित व्यायाम गर्नुपर्ने, दिनमा कम्तीमा आधा घण्टा कडा परिश्रम गर्नुपर्ने बताउँदै डा. भट्टराईले वर्षको एक .पटक नियमित स्वास्थ्य परीक्षण गर्नुपर्ने बताए ।
उनले रगत, पिसाब जाँच गर्नुका साथै स्वास फेर्न गाह्रो भएमा वा नियमित अवस्थाभन्दा फरक सङ्केत देखिएमा तत्काल स्वास्थ्य परीक्षण गराउन पनि सुझाव दिए । जुनसुकै उमेर समूहका नागरिक पनि सचेत हुनुपर्ने बताउँदै उनले आफ्नो स्वास्थ्यप्रति थोरै मात्र सचेत र सजग हुने हो भने पनि संवेदनशील अङ्ग मुटुरोगबाट बच्न सकिने बताए ।
डा. भट्टराईले आवश्यक जनशक्तिको अभाव र सरकारको नीति नियमको कमी कमजोरीका कारणले सबै तहका नागरिकसम्म मुटुरोग उपचारको पहुँच पुग्न नसकेको उल्लेख गर्दै मुटुसम्बन्धी जस्तोसुकै रोगको उपचार र शल्यक्रिया नेपालमै हुने बताए ।
विपन्न नागरिकलाई राज्यले केही सहुलियत दिन थालेको बताउँदै उनले मुटुरोगीको सङ्ख्या दिन प्रतिदिन बढ्दै गएकाले यसप्रति सबै सचेत हुनुपर्नेमा जोड दिए । पर्वतकै मोदी गाउँपालिका घर भएका डा. भट्टराईले पर्वत जिल्लामा ३० प्रतिशत मुटुरोगी रहेको बताए ।
सेभ द हार्टका संस्थापकसमेत रहेका डा. भट्टराईले विभिन्न जिल्लामा दर्जनौँ स्वास्थ्य शिविर सञ्चालन गरी विपन्न र अनाथ नागरिकको मुटुरोग परीक्षण र उपचार गर्दै आएको जानकारी दिए । उनले नेपालमा सबै किसिमको मुटुको शल्यक्रिया सम्भव भएको बताउँदै भल्भ फेर्ने सर्जरी, बाइपास सर्जरी, जन्मजात मुटुरोगीको प्वाल टाल्ने शल्यक्रिया, मुटुको नली फुटेको सर्जरी हुने बताए ।
कृत्रिम मुटु वा भ्यानटुकिलर यसिस्टिङ डिभाइस भनिने उपचार भने नेपालमा उपलब्ध नभएको उनको भनाइ छ । मुटुरोग व्यक्तिगत आचारणमा निर्भर हुने भएकाले खानपिनमा अनुशासित हुन उनले सुझाए ।



लाेकपाटी न्यूज

