‘सरकारले सत्ता कब्जा गर्न खोज्दैछ’ : सभापति देउवा

sher Bahadur Deuwa
लाेकपाटी न्यूज

पोखरा, ५ माघ । नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वर्तमान सरकारले कर्मचारी, प्रहरीलगायत सबै क्षेत्रमा हस्तक्षेप र नियन्त्रण गरिरहेको आरोप लगाएका छन् ।

काङ्ग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन प्रदेश कार्यसमिति गण्डकीले आज पोखरामा आयोजना गरेको प्रशिक्षण तथा सम्मान कार्यक्रममा उनले सरकारले प्रजातान्त्रिक मूल्य र मान्यताको खिलापमा कर्मचारी, प्रहरीलगायतमा हस्तक्षेप र नियन्त्रण गर्न खोजेको बताए ।

सभापति देउवाले भोलिका दिनमा सेना तथा न्यायालयमा समेत हस्तक्षेप गर्ने सम्भावना बढेको आरोपसमेत लगाए । सरकारले शिक्षा, निजामती ऐनलगायतका माध्यमबाट कर्मचारी, प्रहरी, सेना लगायतका संरचनालाई समेत पार्टीका प्रति प्रतिबद्ध बनाउँदै हस्तक्षेप र नियन्त्रण गरिरहेको देउवाको भनाइ छ ।

“वर्तमान सरकारले कर्मचारीतन्त्र, प्रहरी तथा न्यायलयमा हस्तक्षेप गरेर कब्जा गर्ने षड्यन्त्र गरिरहेको छ ।” सभापति देउवाले भने, “हस्तक्षेप रहिरहेमा सदनमा मात्र नभई सडकमा पनि जानुपर्ने अवस्था आउन सक्छ ।”

नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले काम गर्ने अवसरको सदुपयोग गर्न नसकेको आरोप लगाए । देशमा अहिलेजस्तो राजनीतिक स्थिरता र शान्ति यसअघि कहिल्यै पनि प्राप्त हुन नसकेको भन्दै उनले भने, “अवसर पाउँदा पनि सरकारले अवसरको सदुपयोग गर्न असफल भयो ।”

नेता पौडेलले सरकारले देशलाई विकासको बाटोमा लान नसकेको र विकासका काम अहिले अलपत्र परेको बताए । कार्यक्रममा निजामती कर्मचारी सङ्घसँग आवद्ध भएर सङ्घको विकासमा योगदान पुर्याउने प्रदेशका ११ वटै जिल्लाबाट एक/एक जनालाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्