हेटौँडा, ४ माघ । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको आर्थिक वृद्धिदर नौ प्रतिशत पुर्याउने बताएका छन् ।
शुक्रबार एशियाली विकास बैंकद्वारा आयोजित कार्यक्रममा मुख्यमन्त्री पौडेलले देशको आर्थिक वृद्धिदर नौ प्रतिशत पुर्याउने सरकारको लक्ष्य पूरा गर्न लागिपर्ने बताउँदै ३ नं प्रदेश साधन स्रोतलगायत सबै हिसाबले धनी भएको उल्लेख गरे ।
उनले एशियाली विकास बैंकद्वारा लगानी गरिएको क्षेत्रमा प्रतिफलको मूल्याङ्कन गरिनुपर्ने धारणा राखेका छन् । धेरै वर्षअघिदेखि लगानी शुरु गरेको एडिबीले हालसम्म कहाँ र कसरी लगानी गरिरहेको छ ? र, त्यसका उपलब्धि के के हुन ? अध्ययन गर्नुपर्ने उनको भनाइ थियो ।
उनले एडिबीले लगानीको क्षेत्रलाई परिवर्तन गर्नुपर्ने र उत्पादन क्षेत्रमा लगानी गर्नुपर्ने धारणा राखे ।
जनताका बीचमा धेरै कुरा पुर्याउनुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै मुख्यमन्त्री पौडेलले हरेक आयोजना गरिबी अन्त्य गर्ने खालको हुनुपर्ने बताए । प्रदेश सरकारले समृद्धिसहितको विकास चाहेको उल्लेख गर्दै सरकारको हरेक विकासका कदम समृद्ध नेपाल सुखी नेपाली बनाउनेतर्फ अग्रसर हुने बताए ।
कार्यक्रममा प्रदेश ३ का आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेल, उद्योग, पर्यटन तथा वातावरण मन्त्री अरुण नेपाल, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा, प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठ, प्रदेशका प्रमुख सचिव आनन्दराज ढकाल तथा प्रदेश ३ का स्थानीय तहका प्रमुखहरुको उपस्थिति रहेको थियो ।



लाेकपाटी न्यूज

