एजेन्सी । चन्द्रमामा चीनको अन्तरिक्ष अभियानले उमारेका कपासका टुसाहरू मरेका चिनियाँ वैज्ञानिकहरूले बताएका छन् ।
अन्तरिक्ष अभियान चांग’अले लिएर गएका बीउहरू टुसाएको भन्दै चीनले मङ्गलबार तस्बिरहरू सार्वजनिक गरेको थियो । तर, चन्द्रमामा गरिएको जैविक अनुसन्धानको यो उपलब्धि सार्वजनिक गर्दा ती टुसाहरू मरेको जानकारी भने उसले दिएको थिएन ।
अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा यसअघि पनि बोटबिरुवाहरू उमार्ने गरिएको थियो । तर, चन्द्रमामा बिरुवा उमारिएको भने यो पहिलो पटक हो । चन्द्रमामा रात पर्दा ती साना बिरुवाहरू मरेका बताइएको छ ।
विशेष किसिमको भाँडोभित्र उमारिएको भए पनि राति बिरुवाहरूले घटेको तापक्रम खप्न नसकेर मरेका सो प्रयोगको योजनाका एक वैज्ञानिकले चिनियाँ समाचारसंस्था सिन्ह्वालाई बताएका छन् ।
माइनस १७३ देखि १०० डिग्री सेल्सियससम्म तलमाथि भइरहने चन्द्रमाको सतहको तापक्रम बिरुवा हुर्कनलाई उपयुक्त हुने अवस्थामा कायम राख्नु सबैभन्दा ठूलो चुनौति मानिएको छ ।



लाेकपाटी न्यूज

