काठमाडौं । अहिले स्मार्टफोन सबैमा लोकप्रिय बनेको छ । स्मार्ट फोन बिना हामी कुनै पनि काम गर्न नसक्ने भएका छौं । कसैलाई भेट्नु परेमा, सम्पर्क गर्नु परेमा, गेम खेल्नु परेमा, गित सुन्नु या भिडियो हेर्नु परेमा अनि महत्वपूर्ण सुचना तथा जानकारी लिनु परेमा हामी स्मार्ट फोनकै प्रयोग गरिरहेका हुन्छौँ ।
स्मार्ट फोन हाम्रालागि निकै प्रभावकारी मानिएपनि यसको धेरैले दुरुपयो पनि गरिरहेका छन् । पछिल्लो युवापुस्ता स्मार्ट फोनको कारणले कुलतमा फस्ने, पोर्न भिडियो हेरेर अनैतिक क्रियाकलाप गर्ने गरेको अध्ययनले देखाएको छ ।
स्मार्ट फोनको प्रयोगले मानिसको अत्यधिक समय खेर गएको छ भने यसले स्वास्थ्यमा पनि असर परेको देखिन्छ । स्मार्ट फोनको अत्यधिक प्रयोगकै कारणले हामी साथीभाई, परिवार, आफन्त र समाजबाट अलग भइरहेका हुन्छौँ । यसले गर्दा परिवार र समाजप्रतिको हाम्राे दायित्व बिर्सन्छौँ ।
जर्जिया विश्वविद्यालयले गरेको एक अनुसन्धानले कम्प्युटर गेम खेल्ने, सोसल मिडियामा बढि बस्ने र स्मार्ट फोनको प्रयोग बढि गर्ने युवा पुस्ता भन्दा स्मार्ट फोनको कम प्रयोग गर्नेहरु बढी खुसी भएका छन् ।
स्मार्ट फोनको अत्यधिक प्रयोगले आँखा कमजोर हुने, दिमागमा असर पर्नुका साथै निरासा बेचैनी, अनिन्द्राजस्ता विभिन्न समस्या आउने गरेको छ । स्मार्ट फोनको असर दिन प्रतिदिन बढ्दो छ । किशोर अवस्थामा भएका केटाकेटीहरुलाई यसले बढि प्रभाव पारेको छ । यसको प्रयोगले हुने केही असरहरु यस्ता छन् ।
१. विषेशज्ञका अनुसार स्मार्ट फोन बच्चालाई दिनु एक ग्राम कोकीन दिनु जस्तै हो । जसका कारणले उनीहरुको मानसिक विकास हुन सक्दैन ।
२. स्मार्टफोनको अत्यधिक प्रयोगले आँखामा गम्भीर समस्या आउने र आँखाको दृष्टि नै कमजोर हुने समस्या हुन्छ ।
३. स्मार्ट फोनको लत लागेका मानिसहरु क्रोकिन ड्राई आई सिन्ड्रोमबाट पिडित हुन्छन् जसले शरीरलाई निकै असर गर्छ ।
४. स्मार्ट फोन बढी प्रयोग गर्ने बच्चाको मानसिक र शारीरिक विकास राम्रोसँग हुन सक्दैन ।
५. स्मार्टफोन धेरै प्रयोग गर्नु अर्थात् राति अबेरसम्म सुत्दा, उठ्दा तथा खाना खाँदा समेत मोबाइल चलाउनु एक किसिमको रोग हो जसलाई ‘स्मार्टफोन ब्लाइन्डनेस’ भनिन्छ ।
६. मोबाइल मुटुको नजिक राखेमा स्वास्थ्यमा खराबी देखिन्छ भने सिरानी मुनि राख्नाले अनिन्द्रा अल्छीपनाजस्ता समस्या निम्त्याउँछ ।
७. टाउको निहुराएर मोबाइल प्रयोग गर्नाले ढाड दुख्ने तथा हाडजोर्नी सम्बन्धी समस्याले सताउँछ ।
स्मार्ट फोन चलाउने तथा खेल्ने लत बसीसकेपछि यसबाट छुटकरा पाउन कठिन हुन्छ । त्यसैले बच्चालाई मोबाइल फोनबाट टाढा राख्नु पर्दछ । स्मार्ट फोनबाट छुटकारा पाउने केही उपायहरु यस्ता छन् ।
१. बच्चालाई स्मार्ट फोनको सट्टा परिवार तथा साथीभाईसँग खेल्न पठाउने ।
२. मोबाइलमा आवश्यक एप मात्र राख्ने र बच्चाहरुलाई त्यसबाट टाढा राख्ने ।
३. सुत्दा मोबाइल बन्द गरेर सुत्ने ।



लाेकपाटी न्यूज

