रघुवीरलाई प्रधानमन्त्रीको निर्देशन : ‘टुटल र पठाओ’ सेवा नरोक्नुस्’

लाेकपाटी न्यूज

काठमाडौं, ३ माघ । प्रधानमन्त्री केपी ओलीले मोटरसाइकलमा यात्रु ओसार्ने सेवाका लागि मध्यस्थता गर्ने ‘टुटल’ र ‘पठाओ’लाई रोक नलगाउन निर्देशन दिएका छन् । प्रधानमन्त्री ओलीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई बोलाएर टुटल र पठाओ नरोक्न निर्देशन दिएका हुन् ।

यात्रुलाई सहज बनाउने यस्ता सेवालाई व्यवस्थापनको बाटो अपनाउन सकिने तर अहिले जे अवस्थामा छ, चलिरहेको छ, त्यस्तै छोडिदिन मन्त्री महासेठलाई निर्देशन दिएका हुन् । मन्त्री महासेठकै निर्देशनअनुसार ट्राफिक प्रहरीले यस्ता सेवामा रोक लगाएको थियो । तर, यो सेवा रोकेकामा सर्वसाधारणबाट समेत सरकारको आलोचना भएपछि प्रधानमन्त्री ओलीले मन्त्री महासेठलाई यस्ता विषयहरूमा ‘ह्याभोक क्रिएट’ नगर्न निर्देशन दिएका हुन् ।

बुधबार साँझ राष्ट्रिय योजना आयोगको बैठकमा पुगेका यातायातमन्त्री महासेठलाई प्रधानमन्त्रीले टुटल र पठाओको विषयमा छलफल गरेका थिए । उनले बैठकमा सहभागी अन्य व्यक्तिहरूकै अगाडि बाहिर अनावश्यक ‘ह्याभोक’ सिर्जना हुने कुनै काम नगर्न निर्देशन दिएका थिए ।

‘कुनै मोटरसाइकलमा सवार व्यक्ति यात्रु हो कि परिवारको सदस्य हो कि त्यसको जाँच गर्ने के संयन्त्र छ ? भन्दै प्रधानमन्त्रीले यसलाई अहिले यथास्थितिमा राख्न निर्देश गर्नुभएको छ,’ बैठकमा सहभागी एक सदस्यले भने । यसअघि मदिराजन्य पदार्थको उत्पादन रोक्ने लगायतका विषयमा पनि कुनै निर्णय नभइकन बाहिर गलत खालको हल्ला चलेको प्रसङ्ग प्रधानमन्त्री ओलीले उठाएका थिए ।

बाहिर अनावश्यक ‘ह्याभोक’ सिर्जना हुने कुनै काम नगर्न ओलीले निर्देशन दिएपछि अब टुटल र पठाओ सूचारु हुने भएको छ । कुनै मोटरसाइकलमा सवार व्यक्ति यात्रु हो कि परिवारको सदस्य हो कि त्यसको जाँच गर्ने के संयन्त्र छ ? भन्दै प्रधानमन्त्रीले यसलाई अहिले यथास्थितिमा राख्न निर्देश गरेका हुन् ।

टुटल र पठाओलाई रोकेपछि यसको बारेमा बरु व्यवस्थित नीति बन्नुपर्ने, नियन्त्रण गर्न नहुने धारणा सामाजिक सञ्जालहरूमा आएको थियो । यसको सेवा लिइरहनेहरूले महङ्गो ट्याक्सी, सवारी जामका कारण झेल्नुपरिरहेको समस्यामा टुटल र पठाओ किफायती र सजिलो सेवा भन्दै व्यवस्थित बनाउन माग गरेका थिए ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मोटरसाइकलमा यात्रु ओसार्ने टुटल र पठाओलाई सञ्चालनमा रोक लगाउने निर्णय गरेको थियो । रातो प्लेटका सवारी साधनले यात्रु ओसार्नु अवैधानिक हुने भएकाले कानुनी वैधता नपाएसम्म सञ्चालन गर्न नदिइने मन्त्रालयको तर्क थियो । तर, प्रधानमन्त्री ओलीले सर्वसाधरणको सुविधाका लागि आवश्यक परे कानून बनाउन तर नरोक्न निर्देशन दिएका हुन् ।

सेवाका लागि मध्यस्थता गर्ने टुटल र पठाओको सेवामा ट्राफिक प्रहरीले सोमबारबाटै रोक लगाइसकेको छ । टुटलले दुई वर्षदेखि सेवा दिइरहेको छ भने पठाओ केही महिनाअघि सञ्चालनमा आएको हो । यातायात सेवा सञ्चालन गर्न यातायात व्यवस्था विभागमा दर्ता हुनुपर्ने प्रावधान छ । टुटल र पठाओ कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता भएका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्