डा.केसीलाई आइसीयूमा राख्ने तयारी

Dr. Gobinda KC
लाेकपाटी न्यूज

काठमाडौं, २ माघ । डा.केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि १ नम्बर प्रदेश स्वास्थ्य निर्देशनालयले धरानस्थित बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टरलाई तयारी अवस्थामा राखेको छ ।

उनको उपचारका लागि विशेषज्ञ चिकित्सकसहित भेन्टिलेटर तयारी अवस्थामा राखिएको बीपी प्रतिष्ठानले जनाएको छ ।

अनशनका क्रममा बिरामी भएपछि इलाम अस्पतालमा भर्ना गरिएका डा. गोविन्द केसीले सुईमार्फत एन्टिबायोटिक औषधि लिन थालेपछि तत्काललाई जटिलता केही कम भएको छ ।

उनको उपचारमा संलग्न चिकित्सका अनुसार यसअघि औषधि लिन अस्वीकार गरेका डा. केसीले मंगलबार बेलुकादेखि एन्टिबायोटिक लिन राजी भएका हुन्।

मेडिकल सुपरिटेन्डेन्ट डा. वृजेन्द्रकुमार साहले उनको रगत जाँच गर्दा रोगसँग लड्ने क्षमता विस्तारै कमजोर हुँदै गएको बताए । उनले भने,‘उहाँ आफैं डाक्टर हुनुहुन्छ, रिपोर्ट देखाएर सम्झाएपछि बल्लबल्ल एन्टिबायोटिक लिन मान्नुभएको हो ।’

सुईमार्फत एन्टिबायोटिक दिन थालेपछि तत्काललाई थप जटिलता टरे पनि डा. केसीलाई कुनै पनि बेला आईसीयूमा राख्नुपर्ने खतरा भने बाँकी नै रहेको डा. साहले जानकारी दिए ।

इलाम अस्पतालमा आईसीयू सुविधा नभएकाले उक्त सुविधाका लागि इलाम बाहिर लानुपर्ने अवस्था छ । तर डा.केसी बाहिरको अस्पताल नजाने अडान राखेको डा. साहको भनाई छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्