काठमाडौं, २ माघ । समायोजनको फाराम भर्न तोकिएको एक दिन अघि मंगलबार सम्म झन्डै ७५ हजार कर्मचारीले समायोजन रोजेका छन् ।
बुधबार समायोनजका लागि फाराम भर्ने अन्तिम दिन तोकिएको छ । गत पुस ११ गतेदेखि संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजन गर्न सरकारले सञ्चालन गरेको अनलाइनमा कर्मचारीहरुले फाराम भरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले जानकारी दिए । यो खबर आजको नेपाल समाचारपत्रमा प्रकाशित छ ।
फाराम भर्ने म्याद एक सकेन्ड पनि नथप्ने जनाउँदै मन्त्री पण्डितले चिठी पाएको २१ दिन भित्रमा तोकिएको ठाउँमा नजाने कर्मचारीलाई कडाईका साथ खटाउने दाबी गरे । समायोजनका लागि अनलाइन फारम भरिसकेपछि मन्त्रालयले योग्यताको आधारमा समायोजनको नतिजा निकालेर तीनै तहमा कर्मचारी पठाउने भएको छ ।
मन्त्रालयले गत पुस १८ गते कर्मचारी समायोजन सम्बन्धी २१ दिने सार्वजनिक सूचना प्रकाशित गरेको थियो । मन्त्रालयका अनुसार कर्मचारीहरूले संघ, प्रदेश र स्थानीय तहका लागि अनलाइनबाट फारम भर्न सक्ने छ । सो अनुरुप कर्मचारीहरुले फारम भर्न शुरु गरेका हुन् । मन्त्री पण्डितका अनुसार समायोजन फाराम भर्न दिएको अवधि भित्र फारम नभर्ने कर्मचारीलाई सरकार स्वयंले खटाउने छ ।
निजामती सेवामा प्रवेश गर्ने बेला राखेको नागरिकताको ठेगानाको आधारमा सरकारले कर्मचारी खटाउने छ । ‘अहिले समायोजनका लागि आफूले जान चाहेको प्रदेश, स्थानीय तह रोज्न दिएका छौं । तोकिएको समयावधिसम्म पनि समायोजनमा जान चाहेनन् भने सरकारले नै पठाउने छ,’ मन्त्री पण्डितले भने ।
सरकारले खटाएको स्थानमा नजाने कर्मचारीलाई घर बिदा वा निलम्बन गर्न समेत सरकारले तयारी गरेको बताउँदै मन्त्री पण्डितले भने, ‘खटाएको पत्र पाएको २१ दिन भित्र प्रदेश वा स्थानीय तहमा नजाने कर्मचारीलाई निलम्बन गरिने छ ।’
‘खटाएको पत्र लिएर सिहदबारमै बसिरहने, फिल्डमा नजाने प्रवृति चल्ने वाला छैन । कर्मचारीको मुख हेरेर नभई कामको आधारमा मुल्याकंन गर्ने छौं ।’ मन्त्री पण्डितले भने ।



लाेकपाटी न्यूज

