काठमाडाैं । मानव शरीरको एकदमै महत्वपूर्ण अंग हो, दाँत । प्रायः मानिसले दाँतलाई आफ्नो प्राथमिकतामा राख्दैनन् । तर, यसको महत्व खानेकुरा चपाउनदेखि मानिसको सौन्दर्यसम्म जोडिएको हुन्छ ।
दाँत नभएको खण्डमा मानिस उमेर नै नपुगी बुढ्यौली लागेको जस्तो देखिन्छ । अन्य रोगका लागि लाखौँ खर्च गर्न तयार मानिसहरू दाँतको लागि पाँच सय वा हजार रुपैयाँ खर्च गर्न अझै पनि हिचकिचाउँछन् । दाँतबारे खासै चासो नदेखाउँदा विभिन्न खालका समस्या देखापर्दछन् । जसमा किरा लाग्नु पनि एक प्रमुख समस्या हो ।
दाँत यही उमेरबाट किराले खान्छ भन्ने हुँदैन । नेपालमा झण्डै ८० प्रतिशत बढी मानिसहरु दाँतमा किरा लाग्ने समस्याबाट ग्रसित छन् । कान्तिपुर डेन्टल हस्पिटलका अध्यक्ष एवं दन्तरोग विशेषज्ञ डा. बुद्धिमान श्रेष्ठका अनुसार दाँत तीन तहले बनेको हुन्छ । पहिलो तह दाँतको बाहिरी भाग जो हेर्दा सेतो देखिन्छ । मेडिकल भाषामा यसलाई इनामेल भन्छौँ । दोस्रो तह इनामेल भन्दा भित्रको तह हो जसलाई हामी ‘डेन्टिन’ भन्छाैँ ।
इनामेलको तुलनामा यो अलि कमजोर हुन्छ । र तेस्रो तह भनेको सबैभन्दा भित्री भाग हो जसलाई हामी ‘ पल्प’ भन्छौँ । यो तहमा रक्तसञ्चार समेत भइरहेको हुन्छ । र यो दाँतको सबैभन्दा कमजोर भाग हो ।
हाम्रो मुख भित्र हुने ७ सय देखी ९ सय प्रकारका ब्याक्टेरिया हुन्छन् । त्यसमध्येको एक हो एक हो ‘स्टेप्टोकोकस ब्याक्टेरिया’ । हामीले खाएका पदार्थहरु जब दाँत र गीजाको बीचमा, दाँतको चपाउने भागमा वा दाँतहरुबीचको कापमा दन्तलेउको रुपमा अड्केर बस्छ स्टेप्टोकोकस ब्याक्टेरियाले तत्काल एसिड उत्पादन गर्न थाल्छ । एसिडले बाहिरी तह अर्थात ‘इनामेल’ खिइन थाल्छ । त्यही खिएको ठाँउबाट दाँतको भित्रीभागमा छिर्छ । र जति भित्र जान्छ संक्रमण बढाउदै जान्छ ।
एसिडले दाँतको बाहिरी भाग अर्थात इनामेल फोडेपछि त्यसभित्रका भागहरु फोडन गाह्रो हुदैन । इनामेल फोडेसंगै ब्याक्टेरियाले भित्र थप खोल्स्याउदै जान्छ । जब दाँतमा खोल्सिदै जान्छ, खानेकुराहरु त्यही गएर अडकन्छ, र जब अडकन्छ थप एसिड उत्पादन हुन थाल्छ । झनझन दाँत खोक्रिदै जान्छ ।
कसरी विग्रिन्छ दाँत ?
विशेषगरी बालबालिकालाई गुलियो खानेकुरा दिदा दाँत किराउछ भन्ने भ्रम छ । यदि खानेकुरो दाँतमा रहयो भने गुलियो मात्रै होइन जुनसुकै खाद्यपदार्थले पनि दाँत विगार्छ । तर के पनि हो भने चकलेट र मिठाई खाँदा ती पदार्थहरु चिप्कने र त्यहिबाट एसिड उत्पादन सुरु हुने र दाँत किराएको देखिने हुन्छ । तर चिनीपानी, मह जस्ता गुलियो चिज खाँदा त्यसको असर भने कम हुन्छ । जब खानेकुरा दाँत वा मुखमा रहन्छ त्यसले एसिड उत्पादन भई दाँत विगार्छ ।
दाँत जोगाउन
विहान बेलुका नियमीत रुपमा खाना खाईसकेपछि फोलोराइडयुक्त मन्जनले दाँत माज्ने गर्नु पर्दछ । बच्चालाई सुतेर खानेकुरा वा दुध खान दिनुहुदैन् यसो गर्दा खानेकुरा मुखभरी रहन्छ र दाँतमा एसिड उत्पादन तिब्र हुन्छ ।
चिसो पेय पदार्थ खाँदा सकेसम्म पाइपको प्रयोग गर्ने बानि बसाल्नु पर्दछ । बोतलबाट वा गिलासबाट खाँदा दाँतको बाहिरी भाग अर्थात इनामेल खियाउने काम गर्नसक्छ भने पाइपबाट खाँदा दाँतलाई त्यति असर गर्दैन ।
बिस्कुट चक्लेट तथा अन्य खानेकुरा खाईसकेपछि नियमित मुख कुल्ला गर्ने बानि बसाल्नु पर्दछ । हल्का कालो वा पहेलो दाँत देखिनासाथ उपचारका गर्नु पर्दछ ।



लाेकपाटी न्यूज

