‘टुटल’ र ‘पठाओ’मा भाडाका यात्रु बोक्न नपाइने

tootal
लाेकपाटी न्यूज

काठमाडौं, १ माघ । ट्राफिक जामबाट जोगाउँदै छिटोछरितो र सस्तो यात्राका लागि निकै सहयोगी बनेको ‘टुटले’ तथा ‘पठाओ’ पछिल्लो समय काठमाडौं उपत्यकामा निकै लोकप्रिय बन्दै गएको छ ।

तर देशको प्रचलित कानुन बिपरित निजी नम्बरका सवारीसाधन भाडामा प्रयोग भएको गुनासो आएपछि ‘टुटल’ र ‘पठाओ’ यातायात सेवामा ट्राफिक प्रहरीले रोक लगाएको छ । ‘कानून बिपरित निजी सवारीसाधनले भाडामा यात्रु बोक्न नपाउँने महाशाखा प्रमुख एसएसपी बसन्त पन्तले बताए ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले ‘सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा निजी सवारीसाधनमा भाडाका यात्रु बोक्न अनुमति नभएको’ भन्दै शनिबारदेखि कारवाही हुन थालेको हो ।

प्रहरीले सोही ऐनको दफा ८ को उपदफा १ र २ मा भएको कानूनी व्यवस्था अनुसार कारवाही थालेको बताएको छ । उपदफा २ मा निजी सवारी यातायात सेवाका लागि प्रयोग गर्न नपाइने उल्लेख छ । यातायात व्यवस्था विभागसँग समन्वय बिना नै ट्राफिक प्रहरीले बंगलादेशी कम्पनी ‘पठाओ’ र नेपाली कम्पनी ‘टुटल’ लाई निजी नम्बर प्लेट भएका सवारीसाधनमा भाडाका यात्रु बोकेको भन्दै कारवाही गरेको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको निर्देशन अनुसार ट्राफिक प्रहरी प्रभाग दरबारमार्गले शनिबार पाँचथान मोटरसाइकललाई कारवाही गरेको छ । प्रभागले शनिबार नियन्त्रणमा लिएका मोटरसाइकल सोमबार कम्पनीका अधिकारीको रोहबरमा प्रयोजन बिपरितको चिट काटेर ‘अब आइन्दा अनुमति लिएर मात्र चलाउने’ भन्ने सहमतीमा छोडेको छ । ट्राफिक प्रहरी प्रभाग दरबारमार्गले शनिबार पठाओका ४ र टुटलको १ वटा मोटरसाइकल यात्रु बोकेर गन्तव्य तर्फ जाँदैगर्दा नियन्त्रणमा लिएको हो ।

नेपालमा कम्पनी ऐन अन्तर्गत दर्ता भएको टुटलले जावलाखेलमा कार्यालय राखेर काम गरिरहेको छ । यसले काठमाडौं उपत्यकाका लागि ‘टुटल टुडे’ नामक मोबाइल एपमा निजी सवारीसाध भएकाहरुलाई दर्ता गराएर भाडाका यात्रु बोक्न समन्वय गर्दै आएको छ । दरबारमार्गमा कार्यालय रहेको पठाओ भने बंगलादेशी कम्पनी हो ।

उपत्यकामा खासगरी युवाबीच लोकप्रिय बनेको ‘टुटले’ र ‘पठाओ’ मोवाइल एपको माध्यमबाट पैसा लिएर यात्रुलाई मोटरसाइकल यातायात सेवा दिने माध्यम हुन्।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्