काठमाडौं, १ माघ काठमाडौं उपत्यकामा महानगरीय प्रहरी कार्यालय रानीपोखरीले २१ हजार सिसीटिभी क्यामेरा जडान गर्ने कार्य अगाडि बढाएको छ ।
कार्यालयले उपत्यकालाई सुरक्षित बनाउन र समाजमा हुने अपराध नियन्त्रण गर्न ठूलो संख्यामा सिसी टिभी क्यामेरा जडान गर्ने भएको हो ।
प्रहरी कार्यालय रानीपाखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक शैलेश थापाले उपत्यकालाई प्रविधिको प्रयोग मार्फत अपराधिक क्रियाकलाप नियन्यत्रण गर्न सिसी टिभी क्यामेरा जडान गर्ने कामलाई अगाडि बढाएको बताए । यसले हुन सक्ने सम्भावित अपराधलाई रोक्न मद्दत गर्ने उनको विश्वास छ ।
उनले उपत्यकाको काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न स्थानमा २१ हजार ४ सय ४१ वटा सिसी क्यामेरा आवश्यक रहेको र ती क्षेत्रमा सीसीटिभी जडान गर्ने काम अघि बढेको जानकारी दिए ।
उनले भने, समाजलाई सुरक्षित बनाउन प्रहरी रातदिन खटिएका छन । प्रहरीले आधुनिक प्रविधिको प्रयोग मार्फत अपराध नियन्त्रण गर्न सक्छ, उपत्यकाभित्र हाल भइरहेको सिसी क्यामेराको संख्या बढाएर २१ हजार र्पुयाइने छ ।
प्राथमिकतताको आधारमा क्रमश सिसी क्यामेरा थप्दै जाने बताउदै उनले समुदाय–प्रहरी साझेदारी कार्यक्रमले पनि सिसी क्यामेरा जडान गर्न सहज हुने दावी गरे ।
२१ हजार सिसी क्यामेरा जडान गर्न करिब १५ अर्ब रुपैयाँ लाग्ने आंकलन गरिएको छ । थप सिसी क्यामेरा जडानले अपराध नियन्त्रण गर्न सहज हुने बताउदै प्रमुख थापाले स्थानीय सरकारले जडान गर्ने सिसी क्यामेरा पनि प्रहरीले निगरानी गर्ने बताए ।
हाल ५ सय २९ वटा सिसी क्यामेरा सञ्चालनमा छ । उपत्यकाका मुख्य–मुख्य नाका, शहरका मुख्य–मुख्य चोक लगायतको स्थानमा सिसी क्यामेरा जडान गरिएको छ । जस मध्ये ४६० सिसी क्यामेरा नियमित रुपमा सञ्चालनमा छन् । सिसी क्यामेराका महानगरीय प्रहरी कार्यालय रानीपोखरीले २४ सै घण्टा निगरानी गर्ने गरेको छ ।
समय–समयमा विजुली जाने समस्याको कारण निगरानीमा समस्या आउने गरेको बताउदै डिआईजी थापाले भने–अहिले घोषित लोडसेडिङ त छैन तर बेलाबेलामा बिजुली जादा निगरानी गर्न समस्या पर्छ ।’ प्रहरीले प्राविधिक कारणले सिसी क्यामेरा विग्रिएको अवस्थामा तत्काल फेर्न सक्ने गरी काम अगाडि बढाएको छ ।
पुरानो प्रविधिको क्यामेरालाई आधुनिक र नयाँ प्रविधियुक्त सिसी क्यामेरा जडान गर्ने विषयमा पनि गृहकार्य भइरहेको बताउदै प्रमुख थापाले भन्नुभयो–अपराधी पक्राउ गर्न सिसी क्यामेराको महत्व छ ।’
सिसी क्यामेरा मार्फत उपत्यकाको ट्राफिक व्यवस्थापन गर्न पनि सहज भएको छ । सडकमा ट्राफिक जामको अवस्थालाई सिसी क्यामेराबाटै निगरानी गरेर कहाँबाट सहज रुपमा खुलाउन सकिन्छ भन्ने विषयमा पनि कन्ट्रोल रुमले निर्देशन दिने गरेको छ ।



लाेकपाटी न्यूज

