प्रचारप्रसारबारे रणनीति बनाउन नयाँ शक्तिको टोली भारत जाँदै

Baburam-Bhattarai-1
लाेकपाटी न्यूज

काठमाडौं, ३० पुस । नयाँ शक्ति पार्टी, नेपालको एक टोली प्रचारप्रसारको शैली सिक्न भारत भ्रमणमा जाने भएको छ । डा. बाबुराम भट्टराई संयोजकत्वको नयाँ शक्ति पार्टीले प्रचार प्रसार कसरी गर्ने भन्ने विषय सिक्न एक टोली भारत भ्रमणमा जान लागेको हो । सञ्चार र प्रचारका विविध प्रविधिलगायतका विषयमा अध्ययन गर्न सो पार्टीको प्रचार विभागको टोली सोमबार भारत भ्रमणमा जान लागेको हो ।

प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेको नेतृत्वको विभागको टोलीले भारतीय जनता पार्टी, भारतीय काँग्रेस, आम आदमी पार्टीलगायतका ठूला पार्टीका प्रचार टोलीलाई भेटेर नयाँ नयाँ सूचना तथा सञ्चार प्रविधि, सञ्चार्प्रचार रणनीतिलगायतबारे अध्ययन गर्नेछ ।

आम सञ्चारका मिडियासँगको सम्बन्ध, प्रभावकारी सञ्चार रणनीति, चुनावी सञ्चारप्रसार रणनीतिका सम्बन्धमा समेत छलफल गर्न राजनीतिक पार्टीका नेताहरूका साथसाथै सञ्चार विज्ञहरूसँग समेत भेटघाट गरी छलफल गर्ने प्रचार विभाग प्रमुख पाण्डेले बताए ।

उनका अनुसार त्यहाँका राजनीतिक पार्टीका शीर्ष तहका राजनीतिक व्यक्तित्वहरूसँग पनि भेटघाट हुनेछ । अध्ययन भ्रमणमा नयाँ शक्ति पार्टीका युवा नेता सुदर्शन खतिवडा, पंकज राई, प्रल्हाद पोखरेल, मनोज ढोडारी, गणेश खनाल, जनक पाण्डे, दीपक महतो सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्