मानव सेवा आश्रमको भवन बनाइदिन्छु : विद्यासुन्दर शाक्य

Bidhyasundar shakya
लाेकपाटी न्यूज

काठमाडौं, २८ पुस । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले मानवसेवा आश्रमको लागि काठमाडौं उपत्यकाभित्र एउटा भवन बनाउन सहयोग गर्ने घोषणा गरेका छन् ।

शनिबार आश्रमले आफ्ना गतिविधि तथा भावी योजनाहरु सार्वजनिक गर्न रिपोर्टर्स क्लब नेपालमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मेयर शाक्यले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

उनले भने, ‘आश्रमले जग्गा खोजोस । महानगरपालिकाले भवन बनाउन सहयोग गर्छ । आश्रमलाई सबैले सहयोग गर्नुपर्छ । अहिले नेपाल प्रहरी पनि आश्रमलाई सहयोग गर्न हामीसँगै आवद्ध भएको छ । यो खुशीको कुरा हो । अन्य सहयोगी संघ, संस्था र मानव हृदयहरु पनि यसमा आवद्ध हुनुपर्छ ।’

आश्रमका प्रमुख संरक्षक एवं पशुपति क्षेत्र विकास कोषका पूर्व सदस्य सचिव डा. गोविन्द टण्डनको सभापतित्वमा आयोजित कार्यक्रममा बोल्दै मेयर शाक्यले आश्रमको स्थलगत् अवलोकनपश्चात् आफू निकै प्रभावित भएको प्रतिक्रिया दिए ।

उनले भने, ‘मैले त आश्रम नै अवलोकन गरेको छु । त्यहाँ पुगिसकेपछिको दृश्य देख्दा म धेरै प्रभावित भएँ । आश्रमका साना–साना भाइबहिनीहरुले त्यहाँ भएका बिरामीहरु स्याहारेको देख्दा त म झनै प्रभावित भएँ । त्यति हाम्रो घर परिवारका सदस्यहरुले पनि आफ्नै मान्छे बिरामी हुँदा स्याहारसुसार गर्दैनन् होला ।’

राज्यले गर्नुपर्ने दायित्व आश्रमले गरिरहेको आफूले पाएको पनि उनले सुनाए । उनले भने, ‘बास्तवमा ती भाइबहिनीहरुको सेवा लोभलाग्दो थियो । उहाँहरुले पैसाका लागि काम गरेको होइन, मानवसेवाका लागि गर्नुभएको हो । काम गर्दा उहाँहरुलाई मिठो निन्द्रा लाग्ला, अरु मैले व्यक्तिगत स्वार्थ देखिनँ ।’

आफूले स्थलगत् अवलोकन गरेपछि आश्रमलाई कुनै न कुनै प्रकारले सहयोग गर्नुपर्छ भन्ने लागेर नै अहिले काठमाडौंको सामाखुशी र बुढानीलकण्ठमा सञ्चालित दुवै आश्रमको घरभाडा महानगरले तिर्दै आएको पनि शाक्यले जानकारी दिए । मानव आश्रमको कामलाई प्रोत्साहन गर्नको लागि महानगरपालिकाले भरपुर सहयोग गर्ने पनि उनले वचनबद्धता जनाए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्