पूँजीवादले म मात्र खाउँ, म मात्र लाउँ भन्छ : सभामूख महरा

Krishna Bahadur Mahara
लाेकपाटी न्यूज

काठमाडौं, पुस २८ । सभामुख कृष्णबहादुर महराले पुँजीवादी व्यवस्थामा जनताको उन्नती नहुने बताएका छन् ।

शनिबार काठमाडौंको दक्षिणकाली नगरपालिका–५ फर्पिङस्थित आम सरोकार बहुउद्देश्यीय सहकारी संस्थाको नवौं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै महराले पुँजीवादले ‘एक्लै कमाउँ र एक्लै खाउँ’ भन्ने हुनाले देश र जनताको भलो गर्न नसक्ने बताएका हुन् ।

समाजवादले नै सामुहिकतामा जोड दिने हुनाले सामूहिक लगानी, सामूहिक काम र सामूहिक आयआर्जनबाटै देश र जनता सुखी हुनेमा उनले जोड दिए ।

सहकारी संस्था समाजवादको सानो नमूना भएको उल्लेख गर्दै महराले सहकारीमार्फत सामूहिकरुपमा स्थानीय उत्पादनमा जोड दिनुपर्ने बताए ।

हामीले निर्यातका तुलनामा आयात धेरै गर्ने गरेकाेले हामी गरीब भएकाे उनकाे भनाई छ । उनले भने  ‘नेपाल गरीब हुने कारण भनेकै ८० प्रतिशत आयात र जम्मा २० प्रतिशत मात्रै निर्यात हुनाले हो ।’  उनले ब्यक्तिसँग रहेको सानो पुँजी भन्दा सहकारीमार्फत एकत्रित गरेको ठुलो पुँजी लगानी गरेर बढी उत्पादन गरी हामीले धेरै निर्यात गर्न सक्ने बताए ।

गाउँ घरका कान्लाहरुमा तितेपाती खेर गईरहेको उदाहरण दिँदै उनले हामीकहाँ निर्यातमुखि सामान उत्पादनको प्रशस्त सम्भावना रहेको बताए । उनले तितेपातीको दानालाई घ्युमा भिजाएर बाल्दा सबैभन्दा मिठो बास्ना आउने धुप बनाउन सिकने बताउँदै  बाहिरबाट किनिने अगरबत्ती बिस्थापन गर्न सकिने बताए ।

सभामुख महराले स्थानीय उत्पादन र स्थानीय सामानको प्रयोगसँगै आर्थिक समृद्धिका लागि निर्यातमुखि हुनुपर्ने पनि सुझाए समेत दिएका छन् ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्