काठमाडौं, २८ पुस । सडकमा पहिलो हक पैदलयात्रुहरुको भएपनि सडकमा पैदलयात्रुहरु डराइडराइ हिँडेका र बाटो काटिरहेका हुन्छन् ।
पैदलयात्रुलाई बाटो काट्नैका लागि भनेर बनाइएका जेब्राक्रसिङमा समेत सवारी साधनले ठक्कर दिने र ज्यान लिने गरेको छ ।
पछिल्लो केही समयका घटना हेर्दा पैदलयात्रुहरु जेब्राक्रसिङमै जोखिममा देखिन्छन्। । काठमाडौं महानगरपालिकाभित्र कतिपय व्यस्त सकडमा जेब्राक्रस भएरनभएको थाहा हुँदैन । कतै पेन्ट उडेको त कतै सडक भत्किएको र धुलोका कारण जेब्राक्रस पुरिएका छन्। कतै चोकका छेउछाउका जेब्राक्रस निमिटयान्नै पारिएका छन्। जेब्रामा टयाक्सी र माइक्रो रोकिराखिएका भेटिन्छन्।
तथङ्क यस्तो छ
तथ्यांकले सवारी दुर्घटनामा बढीजसो पैदलयात्रुकै ज्यान जाने गरेको देखाउँछ। महानगरीय ट्राफिक महाशाखा रामशाहपथको तथ्यांकअनुसार उपत्यकामा हुने दुर्घटनामा ज्यान गुमाउनेमध्ये ४० प्रतिशत पैदलयात्रु छन्।
आर्थिक वर्ष २०७२र७३ मा १ सय ६६ जनाको दुर्घटनामा परी मृत्यु भएकोमा ६५ पैदलयात्रु थिए। अर्को वर्ष १ सय ८२ जनाले दुर्घटनामा ज्यान गुमाए, जसमा ७९ जना पैदलयात्रु थिए। आर्थिक वर्ष २०७४र७५ मा १ सय ४९ जनाको मृत्यु भयो। जसमा ३४ प्रतिशत अर्थात ५१ जना पैदल हिँडिरहेका व्यक्ति थिए।
आर्थिक वर्ष २०६८र६९ देखि २०७४र७५ को वैशाख मसान्तसम्म सवारी दुर्घटना विवरण हेर्दा मुख्य कारण चालकको लापरबाही देखिन्छ। त्यसयता वार्षिक लगभग ५ हजार दुर्घटना हुने गरेकोमा ८० प्रतिशतभन्दा बढी घटनामा चालकको दोष देखिएको छ। तथ्यांकअनुसार आर्थिक वर्ष २०७३र७४ मा उपत्यकाभित्र ५ हजार ५ सय ३० दुर्घटना भएकोमा ५ हजार २ सय ५ मा सवारी चालकको गल्ती औंल्याइएको छ। त्यसपछिका वर्षमा उपत्यकामा ५ हजार १ सय ८० सवारी दुर्घटना भए। तिनमा ४ हजार ८ सय ८४ घटनामा चालक जिम्मेवार छन्।
महाराजगन्ज वृत्तले हेर्ने क्षेत्रभित्र पछिल्लो तीन वर्षयता ४८ जनाको मृत्यु सवारी दुर्घटनामा भइसकेको छ। आर्थिक वर्ष २०७२र७३ मा १०, अर्को वर्ष १९ र त्यसपछिको वर्ष २०७४र७५ मा १९ जनाको ज्यान गएको छ ।
जेब्राक्रसबाटै बाटो काटदा पनि ज्यानको जोखिम हुने पैदलयात्रुको भनाइ छ। ट्राफिक नियम मान्दामान्दै सवारी चालकले जेब्राक्रसमा पैदलयात्रुलाई प्राथमिकता नदिने गरेको उनीहरू गुनासो छ।
सवारी तथा यातायात व्यवस्था ऐनमा के छ ?
सवारी तथा यातायात व्यवस्था ऐनमा चालकको नियतअनुसार सजाय तोकिएको छ। ऐनको दफा १६१ मा ज्यान मार्ने नियत नभए पनि दुर्घटनामा मृत्यु भएको खण्डमा १ वर्ष कैद २ हजार रुपैयाँ जरिवाना वा दुवै सजाय हुन सक्छ ।
यसैगरी नियतवश किचेर वा सवारी साधन ठोक्काएर ज्यान लिएको देखिएमा सवारी चालक प्रमाणपत्र लिएकाको हकमा दुई वर्षदेखि १२ वर्षसम्म कैद हुन सक्ने व्यवस्था छ ।



लाेकपाटी न्यूज

