वाइडवडी खरिद अनियमितता प्रकरणमा देउवा पनि

Sher Bahadur Deuba
लाेकपाटी न्यूज

काठमाडौं, २८ पुस । नेपाल वायुसेवा निगमको वाइडवडी विमान खरिद अनियमितता प्रकरणमा पुर्व प्रभानमन्त्री एमं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि जोडीएका छन् ।

२०७४ जेठ २४ मा देउवा प्रभानमन्त्री भएको ४ दिन पछि २९ गते वाइडवडी खरिदको रकम भुक्तानीका लागि सटही सिफारिसको निणर्य भएको थियो । त्यतिबेला देउवाले नै प्रयटन मन्त्रालयको नेतृत्व गरेका थिए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्रालयले संसदको सार्वजनिक लेखा समितिलाई पठाएको विवरणमा २०७४ बैशाख २५ गते देखि चैत्र १ सम्म जितेन्द्र नारायण देव उड्यानमन्त्री रहेको उल्लेख छ । तर यो विवरण गलत भएको प्रभानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतले जनाएको छ ।

कार्यालयको विवरण अनसुार देव २०७४ बैशाख २५ गते पर्यटनमन्त्रीका रुपमा जिम्मेवारी सम्हालेका थिए तर तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजिनामासँगै उनी जेठ २३ गते देखि पदमा रहेनन् । भोलिपल्ट अर्थात जेठ २४ गते देउवाको नेतृत्वमा सरकार गठन भयो ।

तत्काललाई नागरिक उड्यान मन्त्रालयको नेतृत्व पनि देउवाले नै गरे । देउवाको नेतृत्वमा ५ दिनपछि मन्त्रालयका सचिव शंकर अधिकारीले पहिलो किस्ता भुक्तानीका लागि नेपाल राष्ट्र बैंमा सटही सुविधाको चिठी लेखे । देव भने दास्रो पटक २०७४ साउन ११ गते मात्र मन्त्री नियुक्त भएका थिए । उनको उक्त कार्यकाल फागुन ३ गते देउवाले राजीनामा दिएसँगै सकियो । भोलिपल्टै केपी ओलीको नेतृत्वमा नयाँ सरकार बन्यो ।

लेखा समितिले राजन केसीको संयोजकत्वमा गठन गरेको उपसमितिले विमान खरिद प्रकरणमा पूर्वमन्त्रीहरू जीवनबहादुर शाही, जितेन्द्रनारायण देव र बहालवालामन्त्री रवीन्द्र अधिकारीलाई जिम्मेवार ठर्हयाई ‘कानुनसम्मत कारबाही’ का लागि लेखी पठाउने निर्णय गरेको थियो ।

‘जितेन्द्र देवको नाम पर्यटन मन्त्रालयबाटै त्रुटिपूर्ण रूपमा जोडिएकाले उनीमाथि लागेको आरोप अब तत्कालीन अवस्थामा मन्त्रालयको नेतृत्व गरेका माथि सार्नुपर्ने भयो,’ लेखा समितिका एक सदस्यले भने, ‘देवले २०७४ जेठ २९ गते जेजस्ता निर्णय गरे भनेर उनीमाथि आरोप लगाइयो, त्यो अब तत्कालीन अवस्थामा मन्त्रालयको नेतृत्व गर्ने प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवाका भागमा पर्न जान्छ ।’

उपसमितिले त्यति बेला ‘नैतिक जिम्मेवारी’ को प्रश्न उठाएको थियो । शाहीमाथि सार्वजनिक खरिद कानुनविपरीत विमान खरिद प्रक्रिया अघि बढाउँदा निगमको बोर्ड अध्यक्ष रहने पर्यटन सचिवलाई निर्देशन दिन नसकेको आरोप लगाइएको छ । उनीमाथि बैना रकम सटहीको सुविधा दिने क्रममा यथेष्ट सतर्कता अपनाउन नसकेको आरोप पनि छ ।

शाहीपछिका मन्त्रीलाई लगाइएको आरोप अलि गम्भीर थियो । जहाज खरिदका लागि हाई–फ्लाई–एक्ससँग कानुनविपरीत सम्झौता हुँदासमेत नजरअन्दाज गरी पहिलो किस्ता भुक्तानी भएको भन्दै ‘नैतिक जिम्मेवारी’ कै प्रश्न उठाइएको छ । प्रतिवेदनले कानुनसम्मत कारबाहीका लागि निर्देशन गर्न समितिलाई सिफारिस गरेको थियो । अब लेखा समितिले पुरानो निर्णय संशोधन गरी तत्कालीन पर्यटनमन्त्रीका हैसियतले देउवामाथि समेत ‘कानुनसम्मत कारबाहीका लागि निर्देशन दिने’ निर्णय गर्नुपर्ने देखिएको ती सदस्यले बताए ।

पूर्वप्रधानमन्त्री देउवाले गत पुस ११ गते संसदको बैठकमा वाइडबडी अनियमितताको प्रसंग चर्को रूपमा उठाएका थिए । उनले वाइडबडीका सम्बन्धमा ‘ठूलो लफडा’ भएको भन्दै जनतालाई यथार्थ विवरण दिनुपर्ने भन्दै सभामुखको ध्यानाकर्षण गराएका थिए । ‘ठीक छ भने किन यत्रो कुरा आइरहेको छ ? सारा बदमासी भएको छ,’ उनले भनेका थिए, ‘धेरै ठूलो घप्ला भएको छ । यसको सत्यतथ्य कुरा आउनुपर्छ । हामी छोड्नेवाला छैनौं ।’

देउवाका राजनीतिक सहयोगी भानु देउवाले ‘सचिवस्तरीय निर्णय’ माथि उठेको प्रश्नमा प्रधानमन्त्री देउवालाई जोड्न नहुने प्रतिक्रिया दिए । ‘त्यति बेला सचिवस्तरीय निर्णय भएको रहेछ । मन्त्रालयसमेत सम्हालेका तत्कालीन प्रधानमन्त्रीको त्यसमा के भूमिका हुन्छ र ?’ उनले भने, ‘सचिवको तहबाटै टुंगिने विषयमा प्रधानमन्त्रीलाई जोड्न हुँदैन ।’ उपसमितिले मन्त्रीकै भूमिकामाथि प्रश्न उठाएको प्रसंगबारे भने उनले तत्काल जवाफ दिन नसकिने बताए । उनले भने, ‘यसमा उहाँ ९देउवा० को धारणा के छ, सोधेर मात्रै भन्नुपर्ने हुन्छ ।’

विभिन्न सरकारी निकायबाट प्राप्त सूचनाका आधारमा विश्लेषण गरी प्रतिवेदन तयार गरिएको भन्दै लेखा समितिका सभापति भरत शाहले अब प्राप्त हुने सूचनाका हकमा अख्तियारलगायत निकायले थप छानबिन गर्ने प्रतिक्रिया दिए । ‘त्यति बेला जति भेटियो, हेरियो । अब प्रतिवेदन नै बुझाएपछि च्याप्टर बन्द भएको छ,’ उनले भने, ‘बाँकी आउने सूचनाका विषयमा अख्तियारले नै हेर्ला । को छन्, को छैनन्, अख्तियारले नै हेरेर टुंगो लगाउला ।’ उपसमितिले नै वाइडबडीबारे विस्तृत अध्ययन गरेकाले समितिमा त्यसलाई खासै नचलाइएको उनले बताए ।

तत्कालीन मन्त्री देवले वाइडबडीको किस्ता पठाउने निर्णय हुँदा आफूले मन्त्रालयको नेतृत्व नगरेको प्रतिक्रिया दिए । उनले भने, ‘मन्त्रालयको प्रशासनमा नेतृत्व गर्ने पर्यटन सचिव कृष्ण देवकोटाको भूमिका शंकास्पद छ । गलत विवरण दिनेमाथि छानबिन हुनुपर्छ । मैले लेखा समितिमा पनि निवेदन दर्ता गराएको छु । संसदमा समेत यो कुरा राख्नेछु ।’ पूर्वमन्त्री देवले पदमा रहँदा ‘वाइडबडीको फ्लीट थप्ने’ निर्णयमा भने हस्ताक्षर गरेका थिए । २०७४ कात्तिक ८ गते भएको निर्णयलाई उनले खरिदसँग प्रत्यक्ष सरोकार राख्ने नभई ‘नीतिगत प्रकृतिको निर्णय भएको’ प्रतिक्रिया दिए । उनले भने, ‘नयाँ विमान आउने भएपछि ती विमान सञ्चालन त गर्नैर्पयो । त्यसका लागि विमान थप्ने निर्णय भएको हो ।’

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्