काठमाडौँ, २७ पुुुस । साहित्यकार एवं नेपाल सरकारका पूर्व सहसचिव लक्ष्मीविलास कोइरालाद्धारा लिखित ‘सिमाना खोज्दै’ उपन्यासको विमोचन गरिएको छ ।
ब्यूरो ८१ नेपालले शुक्रबार रिपोर्टर्स क्लब नेपालमा आयोजना गरेको कार्यक्रममा पृथ्वीनारायण शाहले नेपाल एकीकरणमा गरेका संघर्ष र उनको जीवनीमा आधारित भएर लेखिएको उक्त उपन्यासको लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीले विमोचन गरेका हुन् ।
अध्यक्ष मैनालीले २०६३ सालपछि राष्ट्रियता कमजोर बन्दै गएको चिन्ता व्यक्त गरे । मैनालीले इतिहास नपढी राष्ट्रियता बलियो नहुने दाबीसमेत गरेका छन् । उनले भने, ‘म साहित्यकार होइन, म असली पाठक हुँ, विलासीजीले यो पुस्तक लेखेर राम्रो काम गर्नुभयो ।’
उनले थपे, ‘आधुनिक नेपालका निर्माणकर्ता पृथ्वीनारायण शाहको बारेमा यति गहिरो अध्ययन गरेर उपन्यास लेख्नु चानचुने कुरा होइन, पृथ्वीनारायण शाहको इतिहास गलत तरिकाले स्थापित गर्न खोजिएको पनि थियो, तर त्यो गलत प्रयास चाहिँ स्थायी हुन सकेन, आधारहिन कुराहरु गरेर र लेखेर पृथ्वीनारायण शाहको बद्नाम गर्नु उचित होइन ।’
कार्यक्रममा पूर्व प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले कृतिकार विलासीले पृथ्वीनारायणको शालिकमा एक थुङ्गा फूल थप्न सहयोग पुग्नेगरि महत्वपूर्ण पुस्तक बजारमा ल्याएको बताए । उनले भने, ‘यो उपन्यास सबैले पढ्न जरुरी छ, पृथ्वीनारायण शाहको बारेमा लेखिएको उपन्यासले मन छोएको छ ।’
कार्यक्रममा पत्रकार पुरुषोत्तम दाहालले अंग्रेजहरुले लेखेको गलत इतिहासका कारण पृथ्वीनारायण शाहलाई विवादमा तान्ने काम भएको टिप्पणी गरे । उनले भने, ‘पृथ्वीनारायण शाहको पालामा नेपालमा लेख्ने चलन थिएन, अंग्रेजहरुले जे–जे लेखे, त्यसैलाई सत्य ठानेर आजका नेपालीहरु उफ्रिन थालेका छन् ।’
साहित्यकार प्रतीक नेपालले विमोचित उपन्यासमा युद्धको मनोविज्ञान भएको दाबी गरे । उनले भने, ‘पृथ्वीनारायण शाहले देश जोडेका थिए, यस उपन्यासले पुस्ता जोड्ने काम गरेको छ, गोरखाली भनेपछि विश्व डराउने गर्छन्, अझैसम्म पनि त्यो शक्तिको प्रभाव छ ।’



लाेकपाटी न्यूज

