‘कसैले गरिदेला र देश बन्ला भन्ने सोच त्याग्नुपर्छ’ : गृहमन्त्री

Ram-bdr-thapa-badal
लाेकपाटी न्यूज

वीरगञ्ज, २७ पुस । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले देश समृद्धिको बाधक कानूनहरु छिट्टै हट्ने बताएका छन् ।

वीरगन्ज उद्योग वाणिज्य सङ्घको ४३ औं साधारण सभाको उदघाटन गर्दै गृहमन्त्री बादलले जनताको सङ्घर्षबाट पूरानो र केन्द्रीकृत राज्य व्यवस्थालाई भत्काउँदै अहिले संघीय लोकतान्त्रिक शासन व्यवस्थाको स्थापना भएकाले अब हिजोका सबै समृद्धिको बाधक कानूनहरु विस्थापित गर्ने तयारीमा रहेको बताएका हुन् ।

उनले स्वाधीनता, संस्कृति र पहिचानको रक्षा गर्ने नीति बनाउनु आवश्यक भएको बताउँदै गृहमन्त्री बादलले जनतालाई आफ्नो ठाउँमा आफ्नो अधिकार प्रयोग गर्ने कानून र नीति निर्माणको लागि नै देश सङ्घीयतामा रुपान्तरण भएको बताए ।

वीरगञ्जको योगदान र भूमिकालाई उचित मूल्याङ्कन तथा कदर नगर्नुको पछाडि राजनीतिक अवस्था र व्यवस्था जिम्मेवार रहेको बताए । अहिले त्यो अवस्थामा परिवर्तन भई लोकतन्त्र स्थापना भएको भन्दै त्यस्तो राजनीतिक प्रणालीको विकासका लागि नै जनताको योगदानबाटै नेपालमा सङ्घीय लोकन्तान्त्रिक शासन व्यवस्था ल्याएको बताए ।

उनले भने, “हामीले आफैले कानून बनाउने राजनीतिक प्रणालीको विकास गरेका छौं । वीरगञ्जलाई केन्द्रले हेरेन, विकासका निम्ति उचित मूल्याङ्कन नगरेको भन्ने गुनासो र पश्ताचाप गर्नुको कुनै अर्थ छैन । त्यो हिजोको विषय भएकोले त्यसलाई समाधान गर्न हिजोका एकात्मक प्रणालीको अन्त्य गरेका छौं ।”

‘अब वीरगञ्जको निर्माण वीरगञ्जवासीले गर्नुपर्छ, प्रदेशका प्रतिनिधिहरुले गर्ने हो । अरु कसैले गरिदेला र कसैले गर्ला भन्ने सोच बदल्नुपर्छ’ उनले भने । वीरगञ्ज, मधेस र समग्र देशको विकास जनप्रतिनिधिको काँधमा आएको उनको भनाइ थियो । मन्त्री बादले भने, “हामीले कस्तो विकास गर्ने ? कस्तो नियम कानून बनाउने ? त्यो सबै अब जनप्रतिनिधिहरुले गर्ने हो । हामीले संविधान बनाइसकेका छौं । त्यसको अधिकार प्रयोगका लागि कानून बनाउने प्रक्रियामा छौं ।’’

‘हिउँदे अधिवेशनले विगतमा हाम्रो समृद्धिमा बाधक भएका कानूनहरुलाई खारेज गर्ने र नयाँ कानून निर्माण गर्नेछ” बादलले थपे, ‘हिजोका सांस्कृतिक पहिचान, अधिकारको बाधक कानूनलाई विस्थापित गर्ने जनप्रतिनिधिहरुको काँधमा जिम्मेवारी आएको छ ।’

वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष ओम प्रकाश शर्माको अध्यक्षतामा भएको कार्यक्रममा सङ्घीय संसद प्रदीप यादव, वीरगञ्ज महानगरपालिकाका प्रमूख विजय कुमार सरावगी, नेपाल उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष उमेशलाल श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

सो अवसरमा वीरगञ्ज उद्योग वाणिज्य सङ्घले विभिन्न क्षेत्रमा योगदान पु-याएका व्यक्तिहरुलाई सम्मान गरेको थियो । नेपाल पत्रकार महासङ्घ प्रदेश नम्बरका अध्यक्ष दीपेन्द्र चौहान, ब्रोडकाष्टिङ एशोसिएसन प्रदेश नम्बर २ का संयोजक आरसी यादव, प्रेस सेण्टर नेपाल पर्साका अध्यक्ष नीरज पिठाकोटे र प्रेस युनियन पर्साका अध्यक्ष रामनारायण कुर्मी लगायतलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्