लक्कीलाई सरकारकाे अल्टिमेट, पुस ३० भित्र राजीनामा दिनुपर्छ

lucky sherpa
लाेकपाटी न्यूज

काठमाडौं, २७ पुस । अष्ट्रेलियका लागि नेपाली राजदूत लक्की शेर्पालाई राजीनामाका लागि पुस ३० को अल्टिमेट दिइएको छ । पुस ३० सम्म आफै राजीनामा नदिए त्यसपछि बस्ने मन्त्रिपरिषदको बैठकले उनलाई बर्खास्त गर्ने भएको छ ।

राजदूत शेर्पा आफैले केही दिनको समय माग गरेपछि उनलाई सोमबार सम्मको समयावधि दिइएको स्रोतले जनाएको छ । सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले विहीबार आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजदूत शेर्पालाई कुनै निकास दिन भनेको बताएका थिए ।

‘राजदूत शेर्पा कुटनीतिक व्यक्ति मात्र नभएर राजनीतिक सम्बद्धता भएको व्यक्ति हो’ बास्कोटाले भनेका थिए, ‘यो विषयलाई राजनीतिक नेतृत्वले गम्भीरतापूर्वक लिएको छ, त्यसैले एक दुई दिनमा आफ्नो काम गर्नुहुन्छ होला।’

राजदूत शेर्पाले समय मागेपछि ओली–प्रचण्डले सोमबारसम्मको समयावधि दिएका छन् । उनकै आग्रह अनुसार त्यति समयमावधि दिइएको बताइएको छ । त्यसपछि पनि राजीनामा नदिए लगत्तै बस्ने मन्त्रिपरिषद बैठकले उनलाई बर्खास्त गर्नेछ ।

कुटनीतिक सुविधा अन्तर्गत अष्ट्रेलिया लगिएका ड्राइभरले मानव तस्करीको आरोप लगाएपछि राजदूत शेर्पा विवादको घेरामा तानिएकी हुन् । उनको सम्बन्धमा परराष्ट्र मन्त्रालयले छानबिन समिति नै बनाएको थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्