काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारले सुशासनको कुरा गरेर भ्रष्टाचारमा लिप्त भएको बताएका छन् । कैलालीमा पत्रकारसँग भेटघाट गर्दै नेता सिंहले सरकारमाथि यस्तो आरोप लगाएका हुन् ।
नेता सिंहले भने, ‘संसदीय समितिले गरेको छानविन नमान्ने सरकारको नियतमाथि शंका गर्नुपर्छ । सरकारले संसदको क्षेत्राधिकार हस्तक्षेप गरेको छ । रातारात अर्को छानविन समिति बनाउनु भ्रष्टाचारीले चोख्याउने उपाय हो । हामीलाई सरकारमाथि गम्भिर आशंका छ ।’
नेता सिंहले मन्त्रीले मिलेमतोमा भ्रष्टाचार गरेको आरोप पनि लगाए । उनले भने, ‘सरकारको नियतमा नै शंका छ । नियत ठीक हुन्थ्यो भने विषय बाहिर आउनेबित्तिकै छानविन हुन्थ्यो । छानविन समितिको रिपोर्ट हात नपर्दै सरकारले अर्को समिति बनाउनु भ्रष्टाचार लुकाउने चलखेल नै हो ।’
‘सरकार हतास मनस्थितिमा देखियो, संसदलाई बाइपास गर्यो’ नेता सिंहले भने, ‘देशमा सुशासनको कुनै अनुभूति छैन, सरकारले शान्ति सुरक्षा दिन सकेको छैन । सरकार पार्टीभित्रकै कचिङ्गलमा अल्झिएको छ ।’ उनले नेपाली कांग्रेस संसदमा कठोर रुपमा प्रस्तुत भएको पनि बताए ।
नेता सिंहले निर्वाचित कमिटीले नै नेविसंघको महाधिवेशन गरोस् भन्ने आफ्नो चाहना भए पनि त्यो पूरा नभएको बताए । ‘समय छँदा काम नगर्ने कमिटीको म्याद थप्न सकिँदैन, अब आयोजक समिति बनाएर स्ववियू चुनावमा जानुको बिकल्प छैन ।’



लाेकपाटी न्यूज

