काठमाडौं, २६ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको सङ्घर्ष र बलिदानबाट प्राप्त उपलब्धिलाई धकेलेर मुलुकमा राजतन्त्र फर्कने सपना नदेख्न आग्रह गरेका छन् ।
दुई सय ९७ औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसको उपलक्ष्यमा बिहीबार राजधानीमा आयोजित कार्यक्रममा उनले भने, ‘पृथ्वीनारायणसँगको साइनो भजाएर अब कुनै पनि बहानामा राजतन्त्र फर्किन्छ भनेर नसोचे पनि हुन्छ, पृथ्वीनारायणसँग जोडेर राजतन्त्रको सपना देखेर मुख मिठ्याउनेबीच कुनै साइनो छैन, वास्तवमा राजतन्त्र पुनःस्थापनाको सपना देख्ने प्रतिगामी मात्रै हुन् ।’ उनले राजतन्त्रको सपना देखेर मुख मिठ्याउनुको कुनै अर्थ नरहेको बताए ।
प्रधानमन्त्री ओलीले स्पष्ट नीतिका साथ सरकारले नयाँ बाटो समातेको र प्राप्त उपलब्धिलाई संस्थागत गरी जनतालाई परिवर्तनको अनुभूत गराइने उल्लेख गर्दै ‘यो पाँच वर्षे स्थायी सरकार हो, सङ्ख्याको बहुमत मात्र हैन, स्पष्ट ‘भिजन’सहित अगाडि बढेका छौँ, आँकडामा खेलेर परिवर्तन आउँदैन बरु उपलब्धिले आँकडालाई परिवर्तन गर्ने हो, मैले बजेट कार्यान्वयन मङ्सिरसम्मको पाँच महीने तथ्याङ्क प्रस्तुत गरेको हुँ,’ भने ।
एक फरक प्रसङ्गमा प्रधानमन्त्री ओलीले संविधान कार्यान्वयनका लागि महत्वपूर्ण कानून निर्माणमा बढी केन्द्रित हुनु परेको उल्लेख गर्दैे सरकारले अब विकास र समृद्धिको यात्रालाई रफ्तारमा अघि बढाउने बताए ।
उनले भने, ‘गत असोज २ गतेसम्म मौलिक हक कार्यान्वयनसम्बन्धी कानून निर्माणमा बढी अल्मलिनुपर्यो । त्यसयता अरु कानून निर्माणसँगै नयाँ अभियान पनि चलाइरहेका छौं, जसका सकारात्मक असर देखिँदैछन् अब, नेपालमा कोही भोकै बस्नु पर्दैन, भोकले मर्नुपर्दैन, तराईमा शीतलहरबाट जोगाउन न्यानोका लागि आवश्यक सामग्री पठाएका छौँ, अर्को वर्षसम्म निराक्षरता उन्मूलन गर्ने अभियानका साथ लागेका छौँ, त्यसैले अब सरकारले नयाँ बाटो समातेको छ ।”


लाेकपाटी न्यूज

