काठमाडौं, २६ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले भोलि राष्ट्रिय एकता दिवस देशव्यापी भव्य रुपमा मनाउन र उक्त दिन सार्वजनिक बिदा दिन प्रधानमन्त्री केपी शर्मा ओलीसँग आग्रह गरेका छन् । उनले भने, ‘पृथ्वीनारायण शाहको एकीकरणको योगदानलाई राजनीतिक आस्थासँग जोडेर हेर्नु हुँदैन । एकीकरणको गौरव र इतिहास कहिल्यै पनि परिवर्तन हुँदैन ।’
बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा बोल्दै अध्यक्ष थापाले भोलि राष्ट्रिय एकता दिवस भव्य रुपमा मनाउन आग्रह गरेका छन् । उनले भने, ‘पृथ्वीनारायण शाहको राष्ट्रिय एकीकरणलाई अपव्याख्या गरेको पनि पाउँदछौं । शाहले एकीकरण गरेको होइन, गोरखा बिस्तार गरेका हुन् भनेर व्याख्या गरेको पनि पाइयो । तर, दुवैको परिणाम एउटै हो–आधुनिक नेपाल निर्माण । नेपाली हुँ भनेर गर्व गर्ने प्रत्येक नेपालीले उहाँलाई सम्मान गर्नुपर्छ ।’
उनले भारतमा जस्तै नेपालमा पनि ब्रिटिश साम्राज्यको प्रभाव पार्न खोजिएको भएपनि पृथ्वीनारायण शाहले उनीहरुको षड्यन्त्र असफल पारिदिएको बताए । उनले भने, ‘१७६७ मा सिन्धुलीगढीमा अंग्रेज सेनाहरुलाई पराजित गरेर पृथ्वीनारायण शाहले नेपाललाई स्वतन्त्र राष्ट्र बनाउनुभयो ।’
पूर्व उपप्रधानमन्त्रीसमेत रहेका थापाले अहिले राष्ट्रिय एकता कमजोर भएको र राष्ट्रिय पहिचान पनि संकटमा परेकोमा चिन्ता व्यक्त गरे । उनल भने, ‘मुलुकमा राष्ट्रिय अखण्डता, स्वतन्त्रता र एकतालाई अक्षुण राख्नका लागि पृथ्वीनारायण शाहबाट प्रेरणा लिनुपर्छ ।’ आफ्नो पार्टीले प्रत्येक वर्ष पुष २७ गते देशव्यापी रुपमा राष्ट्रिय एकता दिवस मनाउँदै आएको पनि उनले सुनाए । उनका अनुसार राप्रपाले भोलि काठमाडौंको राष्ट्रिय सभागृहमा दिउँसो १ बजेदेखि ३ बजेसम्म चियापान राखेको छ ।
फरक प्रसङ्गमा उनले आफ्नो पार्टी राप्रपाले नेपाललाई हिन्दूराष्ट्रको रुपमा पूर्नस्थापन गर्न माग राखेर आगामी फागुण ७ गतेबाट जनसङ्घर्ष गर्न लागेको पनि जनाए । फागुण ७ गते केन्द्रमा प्रधानमन्त्री र प्रदेशमा ७ वटै प्रदेशका मुख्यमन्त्रीहरु र ७७ वटै जिल्लाका सिडिओहरुलाई हिन्दूराष्ट्र पूर्नस्थापनाको माग राखेर ज्ञापनपत्र बुझाउने कार्यक्रमसमेत तय भइसकेको थापाले सुनाए ।
आफूहरुले राखेका मागहरु फागुण मसान्तभित्र पनि पूरा नभए चैत्र १ गतेबाट जनसंघर्ष गर्ने थापाको चेतावनी छ । उनले भने, ‘जनसंघर्षको तयारीस्वरुप हाम्रो पार्टीले ७ वटै प्रदेशमा प्रशिक्षण सञ्चालन गरिसकेको छ । अहिले देशका विभिन्न भागहरुमा हिन्दूराष्ट्र पूर्नस्थापना जनजागरण सभा र घरदैलो कार्यक्रमहरु भइरहेका छन् ।’
उनले भने, ‘बास्तवमा नेपालकै इतिहासमा राष्ट्रिय अखण्डतामाथि पहिलोपटक प्रश्नचिन्ह खडा गरिएको छ । केही समयअघि तराईका केही जिल्लाहरुमा मधेश नेपाल होइन, मधेश स्वतन्त्र देश हो भन्ने ब्यानर र प्लेकार्डसहित प्रर्दशन गरियो । सभा गरियो । तर, दुर्भाग्यवश नजिकै रहेको राज्यसंयन्त्रले त्यसलाई नियन्त्रण गर्ने प्रयाससमेत पनि गरेन । त्यसले विखण्डनकारीहरुको मनोबल बढ्न गएको छ ।’
अध्यक्ष थापाले आफ्नो करिब ४५ वर्षे राजनीतिक जीवन–यात्राको क्रममा आफूले सिकेको महत्वपूर्ण पाठ नै राष्ट्रवादी भन्न सजिलो तर राष्ट्रवादी भएर बाँच्नका निमित्त गाह्रो रहेको सुनाए । उनले भने, ‘जब–जब नेपालमा राष्ट्रवादी शक्ति बलियो हुन थाल्दछ, तब–तब त्यो राष्ट्रवादी शक्तिलाई कमजोर बनाउनका निमित्त देशी तथा विदेशी शक्तिहरु क्रियाशिल हुन्छन् । र, त्यसको प्रभावबाटै राप्रपा पटक–पटक फुट्न गएको छ।’
पोखरामा तपाई र पूर्वराजा ज्ञानेन्द्रबीच भएको भेटवार्तामा के–के कराकानी भएको थियो भनेर पत्रकार ऋषि धमलाले सोधेको प्रश्नमा थापाले भने, ‘पार्टीको प्रशिक्षणको कार्यक्रम थियो । त्यही सिलसिलामा म पोखरा पुगेको थिएँ । पोखरा जाँदाखेरि राजा ज्ञानेन्द्र पनि निजी भ्रमणमा पोखरामै रहेको थाहा भयो । र, मैले उहाँसँग माउन्ट ग्लोरी फरेष्ट रिसोर्टमा करिब डेढ घण्टाजति शिष्टाचार भेट गरें । त्यो शिष्टाचार भेटको क्रममा देशको समयसामयिक परिस्थितिका बारेमा विचार आदान–प्रदान भयो । देशको बिग्रँदो अवस्थाप्रति राजा ज्ञानेन्द्रमा चिन्ता रहेको पाएँ ।’
धमलाले आफूले ज्योतिषहरुसँग लिएको अन्र्तवार्तामा उनीहरुले पूर्वराजा ज्ञानेन्द्र २०७६ सालमा पूर्नस्थापना हुने दाबी गरेका छन् नि, तपाईलाई के लाग्छ ? भनेर राखेको अर्को जिज्ञासामा थापाले हाँस्दै भने, ‘ऋषिजी, तपाईको मुखमा दुधभात परोस् । ज्योतिषहरुको मुखमा पनि दुधभात परोस् ।’



लाेकपाटी न्यूज

