समायोजनमा जाने कर्मचारी अधिकांश तल्लो तहका

Samanya prashan Mantralaya
लाेकपाटी न्यूज

काठमाडौं, २६ पुस । संघमा कर्मचारीको दरबन्दी संख्या बढ्दै जाँदा करिब ४१ हजार नयाँ जनशक्ति तत्काल नियुक्त गर्न आवश्यक देखिएको छ । तीनै तहमा आवश्यक पर्ने कर्मचारी छैनन् । पछिल्लो संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम)मा संघमा ४७ हजार ९ सय २० दरबन्दी कायम गरिएको छ ।

हाल कार्यरत कर्मचारीलाई संघमा राखी बाँकी कर्मचारीलाई प्रदेश र स्थानीय तहमा समायोजन गर्दा करिब १७ हजार कर्मचारी (प्रशासन सेवा) मात्र प्रदेश र स्थानीय तहमा समायोजन गर्नुपर्ने हुन्छ । यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

समायोजनमा जाने कर्मचारीमध्ये अधिकांश कर्मचारी तल्लो तहका हुनेछन् । नायब सुब्बा र खरिदारको अनुपातमा शाखा अधिकृत पनि कम संख्यामा समायोजन हुनेछन् । ५ सय ४९ शाखा अधिकृत (प्रशासन सेवा) मात्र प्रदेशमा समायोजन हुनेछन् । हाल २ हजार ९ सय १ शाखा अधिकृत (प्रशासन सेवामा) कार्यरत छन्। निजामती किताबखानाका अनुसार सबै समूहका गरी हाल कार्यरत शाखा अधिकृतको संख्या ११ हजार १ सय ९८ पुगेको छ । स्थानीय तहमा शाखा अधिकृतको दरबन्दी संख्या (प्रशासन सेवा) ५ सय ४० कायम गरिएको छ । यसबाट स्थानीय तहमा समायोजन भएर जानुपर्ने शाखा अधिकृतको संख्या २८ छ । किताबखानाका प्रवक्ता राजेन्द्र पराजुलीका अनुसार हाल ६३ जना सचिव, ५ सय ७२ सहसचिव र उपसचिव ३ हजार ६१० कार्यरत छन् ।

किताबखानाका अनुसार हाल कार्यरत नायब सुब्बाको संख्या १७ हजार ८ सय ३९ र खरिदारको संख्या ११ हजार ७ सय १८ छ । तीमध्ये प्रशासन सेवामा हाल कार्यरत नायब सुब्बा ६ हजार २ सय ९५ छन् । संघमा नायब सुब्बा (प्रशासन सेवा )को दबरन्दी ३ हजार ३ सय ७८ छ, जसमध्ये संघमा हाल कार्यरत नायब सुब्बाको संख्याबाट संघमा दरबन्दी कटाउँदा ३ हजार १७ मात्र बाँकी रहन्छन् । बाँकीलाई प्रदेश र स्थानीय तहमा समायोजन गर्दा सोही संख्यामा समायोजन गर्नुपर्ने हुन्छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्