सुमार्गीको बैंक खाता रोक्का

Ajayaraj-Sumargi
लाेकपाटी न्यूज

काठमाडौं, २५ पुस । अजेयराज सुमार्गी सञ्चालक रहेको मुक्तिश्री सिमेन्ट उद्योग प्रालिका नाममा रहेको बैंक खाता रोक्का नगर्न सर्वोच्च अदालतका न्यायाधीश दीपकराज जोशीले झन्डै दुई साताअघि दिएको अल्पकालीन अन्तरिम आदेशलाई सोही अदालतले खारेज गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र न्यायाधीश आनन्दमोहन भट्टराईको संयुक्त इजलासले सुमार्गीको खाता रोक्का नगर्न यसअघि जोशीको एकल इजलासले दिएको अल्पकालीन अन्तरिम आदेश मंगलबार खारेज गरेको हो । अल्पकालीन अन्तरिम आदेश खारेज भएपछि सुमार्गीको खाता रोक्ने राष्ट्र बैंकको निर्णयले निरन्तरता पाएको छ । यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

पुस १२ मा न्यायाधीश जोशीको एकल इजलासले सुमार्गीको खाता रोक्का नगर्न राष्ट्र बैंकलाई अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । मंगलबारको संयुक्त इजलासले ‘अन्तरिम आदेश जारी नहुने’ निर्णय गरेको छ । न्यायाधीश जोशीले उद्योगले मागेका बेला भुक्तानी दिन राष्ट्र बैंकका नाममा आदेश दिएका थिए ।

तर, मंगलबारको इजलासले जोशीले दिएको आदेश गलत भएको ठहर गरेको छ । सर्वोच्च अदालतले पुस १२ को आदेशमा ‘रोक्का गरिएको खाता पुस २४ सम्मका लागि सञ्चालन गर्न छुट’ दिएको थियो। सर्वोच्चले मंगलबार राष्ट्र बैंक र मुक्तिश्री सिमेन्टलाई छलफलका लागि बोलाएको थियो ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्